दश शैयाको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आम्चोराका स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकाले १० शैइयाको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ ।

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैइयाका अस्पताल बनाउने रणनीति अनुसार सबै पालिकमा बजेट पठाएको छ । बैतडीका केही स्थानीय तहमा गएको मंसिरमा अस्पतालहरु शिलान्यास गरिएको भएपनि पञ्चेश्वरमा भने काम अघि बढ्न सकेको छैन् । स्थानीयहरुको अवरोधका कारण अस्पतालको काम अघि बढ्न नसकेको हो । गाउँपालिकाको केन्द्र भएकै ठाउँमा पालिकास्तरीय अस्पताल बन्नुपर्ने स्थानीयको माग छ ।

तर आफूहरुको मागका बारेमा सुनुवाई नभएपछि बुधबार र्याली सहित कोणसभा गरेको संघर्ष समितिका सदस्य बीरबहादुर चन्दले जानकारी दिए। गाउँपालिका अध्यक्षले एकलौटी रुपमा कुलाउमा अस्पताल स्थापना गर्ने प्रयास गरेको उनले आरोप समेत लगाउनुभएको छ । आफूहरुले आज गाउँपालिका र्याली सहित पुगेर ज्ञापन पत्र समेत बुझाएको चन्दले बताए। यो बिषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फोन रिसिभ भएन् । पञ्चेश्वरमा पछिल्लो समयमा अस्पताल स्थापनाका बिषयमा विवाद हुँदै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुस