भारतीय पक्षले दार्चुलाको महाकाली नदीमा बनाउँदै गरेको पर्खालको नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । नेपालको सीमा क्षेत्रमा नेपालसंग समन्वय नै नगरी भारतले सुरक्षा वाल, चेक वाल (पर्खाल) को निर्माण गरेको भन्दै प्रश्न उठेको थियो ।

त्यसका सम्बन्धमा गत पुस २२ गते नेपालले एकतर्फी रुपमा स्थलगत निरीक्षण गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिहरु सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेको उनले बताए । उक्त टोलीले गरेको सिफारिसमा आधारमा संयुक्त स्थलगत निरीक्षण गर्न लागिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘स्थलगत अध्ययनले दुबै देशको प्राविधिक टोलीले अध्ययन गर्न आवश्यक भयो भनेर सिफारिस गरे अनुसार अप्रिल १२ मा फेरि अर्को टोली स्थलगत अध्ययनमा जाने हो’ ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा भने । उनले संयुक्त टोलीले स्थलगत अध्ययन गर्दा पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन ? अन्तर्राष्ट्रिय सीमाको सही ढङ्गले सम्बोधन गरिएको छ कि छैन ? भन्ने बारेमा तथ्य प्रमाण हेरिने बताए । छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले स्थलगत निरीक्षणमा टोली पठाउँदा अंग्रेजी राम्रो जानेको, नापजाँचको राम्रो ज्ञान भएको व्यक्ति पठाउन सुझाव दिएका थिए । जवाफ दिँदै मन्त्री ज्ञवालीले निरीक्षणमा दक्ष टोली जाने र नेपालमै बसेर अधययन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुस