महाकाली नदिमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धको संयुक्त रुपमा अध्यन सुरु गरिएको छ। दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नापी विभाग काठमाडौंबाट आएको केन्द्रीय नापी टोली र भारतीय सर्वे टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन थालेको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सोमवार विहानदेखि तटबन्धन निर्माण स्थलमा संयुक्त अध्ययन सुरु भएको जानकारी दिए।

उनका अनुसार ५ सदस्यीय नेपाली टोलीको नेतृत्व प्रमुख नापी अधिकृत जयानन्द जोशीले गरेका छन्। भारतबाट पनि सर्वे डिपार्टमेन्टको ५ सदस्यीय टोली निर्माणस्थलमा अध्ययनका लागि खटिएको छ। प्रमुख जिल्ला अधिकारी जोशीले स्थलगत अध्ययन टोलीमा दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक र भारतबाट एसएसबीका अधिकारी पनि सहभागी छन्। दार्चुलामा २०७० सालमा महाकाली नदीमा आएको बाढीले धार परिवर्तन गर्दा नेपाली भूमि भारततिर परेको छ।

भारततिर परेको नदी किनारामा भारतले १५ मिटर क्षेत्रमा तटबन्धन बनाइसकेको छ। अहिले काम भने रोकिएको छ। नेपालभित्र पर्ने भूमिमा नदीले धार परिवर्तन गरेकै आधारमा तटबन्ध निर्माण गरेको भन्दै दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा कुरा उठाएका थिए। बडूले भारतले नेपाली भूमिमा एकतर्फी तटबन्ध बनाउँदा सरकार कहाँ छ भनेर प्रश्न गर्दै जवाफ मागेका थिए। कुरा उठेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमा नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने जानकारी दिएका थिए। मन्त्री ज्ञवालीले अध्ययनका क्रममा पर्खाल ठिक ढंगले बनेको छ कि छैन ? अन्तर्राष्ट्रिय सीमाको सहि ढंगले सम्मान गरिएको छ कि छैन? भन्ने हेरिने र यसले तथ्य प्रमाणहरु अघि सार्ने बताउँदै नेपालले आफ्नो अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तदारुकताका साथ गर्ने र यसमा नेपाल सरकार सजग रहेको बताएका थिए।

प्रतिक्रिया दिनुस