प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा हराएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपतिले केही दिन अगाडि प्रदान गरेको विभूषणमा नेपालको पुरानै नक्सा प्रयोग भएको र पाठ्यक्रममा नयाँ नक्सा छापिए पनि वितरण नभएको भन्दै उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को सत्तारुढ दल नेकपा माओवादीले नयाँ नक्सा प्रयोगमा नल्याएको भन्दै आक्रोस पोखे। कांग्रेस सचेतक पुष्पा भुषालले नयाँ नक्सा प्रयोग गर्ने संसदको निर्देशन सरकारले नमानेको भन्दै आपत्ति जनाइन्। राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने भनाई राष्ट्रिय राजनीतिमा छाएको भन्दै उनले व्यङ्ग्य गरिन्।

“राष्ट्रपतिबाट विभूषण प्रदान भएको छ । नक्सा संसोधन प्रतीक समावेश छैन सरकारले जिम्मा लिने कि नलिने ? यो गम्भीर भुल सरकारले किन गर्याे ?,” भुषालले प्रश्न गर्दै भनिन् ,“प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनुपर्छ।”

कांग्रेसका अर्का सांसद प्रदीप गिरीले पनि चुच्चे नक्साको सन्दर्भ उठाए। चुच्चे नक्सा कता हरायो ? के चुच्चे नक्साको भ्रूणहत्या भएकै हो ? कि बालहत्या भएको हो ? वा राष्ट्रिय राजनीतिको त्यो सानो मोहडा मात्रै थियो ?” उनले भने ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले पनि विभूषणमा नेपालको नयाँ नक्सा किन नराखिएको भन्दै प्रश्न गरे। गैरजिम्मेवार जवाफ दिएर सरकार पन्छिन नमिल्ने भन्दै उनले भने, “सम्मान गर्ने निर्णय विगतमा भएको भए पनि पदक त अहिले दिएको हो नि । अहिले यति हल्का टिप्पणी गरेर जिम्मेवारीबाट पन्छिन मिल्छ ?” उनले मौसमी राष्ट्रवाद जनतालाई नचाहिएको भन्दै सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । तर, सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले भने सरकारको बचाउ गरेका थिए ।

नेकपा एमालेका सांसद नरबहादुर धामीले केपी ओली नेतृत्त्वको सरकारले भारतको सेना बसेको स्थान समेटेर नक्सा निकाल्ने ऐतिहासिक काम गरेको बताए ।

प्रतिक्रिया दिनुस