नेकपा एमाले सुदूरपश्चिममा बढेको विवादमा आर्थिक हिनामिना समेत जोडिएको छ। एमाले ओली समूहको कारबाहीमा परेका खनाल–नेपाल समूहका नेता भीम रावल पार्टीको नाममा रहेको ३० लाखको विवादमा तानिएका हुन्। उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खाताबाट ३० लाख रुपैंया झिकेर व्यक्तिको खातामा राखेको खुलेको हो। सो रकम दिनेश चन्द्र सुवेदीको व्यक्तिगत खातामा रहेको खुलेपछि रावल विवादमा तानिएका छन्।

एमाले ओली समूहका नेताले रावलको निर्दशनमा पार्टीको पैसा ब्यक्तिको नाममा सारेको दावी गरिरहेका छन्। अहिले माओवादी केन्द्रका नेताहरुले समेत सो पैसामा दावी गरिरहेका छन्।नेकपामा विवाद बढेपछि दुवै समूहले पार्टीको नाममा रहेको बैङ्क खाता रोक्का गराएका थियो। त्यही विवादको क्रममा पुस १३ मा पार्टीको नाममा रहेको कृषि विकास बैङ्कको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ।सुवेदी पार्टीका कार्यालय सचिव थिए। पार्टी भित्र विवाद बढ्दै गएपछि सुदूरपश्चिम इन्चार्ज रहेका रावलको ठाडो निर्देशमा पार्टीको कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट रकम झिकिएको थियो।

कसरी पुग्यो पार्टीको रकम व्यक्तिगत खातामा?

विवाद अगाडि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खातामा ३८ लाख रकम थियो। पार्टी प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मामध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने कानुनी व्यवस्था थियो। पार्टीभित्रकै केपी पक्ष र प्रचण्ड–माधव समूह बिच विवाद बढ्दै जाँदा पुस १३ गते भीम रावलको ठाडो निर्देशनमा पार्टीका प्रदेश सचिव चौधरी र कार्यालय सचिव दिनेश चन्द्र सुवेदीले पार्टीको खातामा रहेको ३० लाख रकम झिके।

रकम झिकेको एसएमएस पार्टी प्रदेश अध्यक्ष थापाले पाएपछि विवाद चर्कियो। प्रदेश सचिव माओवादी केन्द्रका तर्फबाट थिए भने कार्यालय सचिव सुवेदी माधव समूहका रावल निकट थिए। पार्टी प्रदेश अध्यक्ष कर्ण थापा केपी समूहमा खुलेका थिए। पार्टी प्रदेश इन्चार्ज रहेका रावलले आफ्नो निर्देशनमा रकम झिकिएको स्वीकार समेत गरेका थिए।पार्टी अध्यक्ष थापा लगायतकाले चैत्र १९ गते कृषि विकास बैङ्कमा खाताका रकम कहाँ गयो लिखित जवाफ दिन पत्र पठाए। त्यही पत्रका आधारमा बैङ्कले चैत्र २९ गते पत्र पठाउँदै पार्टीको खाताबाट ३० लाख रकम सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरिएको जानकारी सहितको पत्र पठाएको थियो।

नेकपा एमाले (तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा) अध्यक्ष थापाले अवैधानिक ढङ्गले पार्टीको रकम झिकिएको दाबी गरे।‘पार्टीको रकम व्यक्तिगत खातामा राख्नै मिल्दैन,उनले भने,‘यसमा बैङ्कका कर्मचारीहरूको पनि मिलेमतो छ,रकम खाताबाट झिकिएको पनि छैन,सिधै सुवेदीको खातामा रकमान्तर गरिएको छ कानुनले यो मिल्दैन।’

प्रदेश अध्यक्ष थापाले रकम झिक्नमा संलग्न सबैमाथि कारबाही हुने बताएका छन्। ‘गैर कानुनी काम भएको छ,अदालती प्रक्रियामा जान्छौँ,संलग्न सबै कारबाहीको भागीदार हुन्छन्,रकम नेकपा एमालेको खातमा फर्काउँछौँ।’ यस विषयमा बुझ्न तत्कालीन पार्टी कार्यालय सचिव सुवेदीलाई टेलिफोन गर्दा उनी सम्पर्कमा आएनन्।

‘रकम सुरक्षित छ,भागबन्डा हुन्छ’

माओवादी केन्द्रका नेता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिव नेप बहादुर चौधरीले भने ३० लाख रकम सुवेदीकै खातामा रहेको पुष्टि गरे।‘पार्टीको सम्पत्ति हिनामिना हुने देखेपछि, हामीले झिकेर राखेका हौँ,’उनले भने,‘रकम सुरक्षित छ,अहिले पाटी फुटी सकेको अवस्था छ। अव छलफलका माध्यमबाट रकम भागबन्डा हुन्छ।’पार्टीको रकम व्यक्तिगत खातामा किन राखेको भन्ने प्रश्नमा चौधरीले पार्टी भित्र विवाद बढ्दै गएको र सम्पत्तिमाथि असुरक्षा देखेपछि रकम झिकेको प्रतिक्रिया दिए।‘सम्पत्तिको सुरक्षा त जसरी पनि गर्न प¥यो नि उनले भने,‘हिनामिना हुने देखेपछि जोगाउनु त हाम्रो कर्तव्य हो,हामीले हाम्रो धर्म निभाएका हौँ,रकम सुरक्षित छ।’

रकममा दुवै पार्टीको दाबी,अव के हुन्छ ?

नेकपा एमाले र माओवादी अलग भएपछि रकमबारे विवाद झन् बढेको छ । रकम झिक्न निर्देशन दिने रावल र आफ्नो खातमा रकम राखेका सुवेदी अहिले नेकपा एमालेमा छन्। पार्टी एक हुँदाको नेकपामा सचिव चौधरी अहिले नेकपा माओवादी केन्द्रमा छन्। एमाले भित्रकै दुई गुटबिच पनि विवाद छ। नेकपा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले झिकिएको ३० लाख रकम एमालेको मात्र रहेको दाबी गरेका छन्।

‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो,’अध्यक्ष थापाले भने,‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौँ,त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन,सबै रकम एमालेकै हो।’ रकम झिक्ने कार्यमा संलग्न सबैमाथि कारबाही गरेर सबै रकम एमालेको खातामा राख्ने उनको दाबी छ ।यता माओवादी केन्द्रका नेता नेप बहादुर चौधरीले भने त्यसमा माओवादीको पनि भाग रहेको बताए।‘दुई पार्टी एक हुँदा खातामा हाम्रो पार्टीको रकम पनि थियो,रकम सुरक्षित छ,दुई पार्टीले हिसाब गरेर आ–आफ्नो रकम लग्नुपर्छ,’उनले भने।रकम झिक्न निर्देशन दिने र रकम आफ्नो खातमा भएका व्यक्ती एमालेमै छन्,अव माओवादीले कसरी रकम पाउँछ भन्ने उकेराको प्रश्नमा चौधरीले छलफलका माध्यमबाट विवाद समाधान हुने बताएका छन् ।

प्रतिक्रिया दिनुस