बैतडीमा निजी स्रोतका शिक्षकहरू आन्दोलित बनेका छन्। जिल्लाको सिगास गाउँपालिकामा अध्यापन गराउँदै आइरहेका निजी स्रोत शिक्षकहरूले पारिश्रमिक पाउनुपर्ने माग सहित बिहीबार सात वटा वडा कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। विगत ९ महिनादेखिको तलब नपाएको भन्दै उनीहरूले हिजो वडा नम्बर २र ५ बाहेकका सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडा न. २ मा प्रहरी प्रशासनको अवरोध र वडा न. ५ मा कम शिक्षक उपस्थीत भएकाले ती दुई वडामा तालाबन्दी गर्न बाँकी रहेको शिक्षकहरूको भनाइ छ।
विगतमा स्वयंसेवक शिक्षकको रूपमा तलब पाउँदै आएका १ सय ८७ जनाको सङ्ख्यामा रहेका उनीहरूले अहिले तलब नपाउँदा आन्दोलन जारी राखेका हुन्। निजी श्रोतका शिक्षकहरूले गाउँपालिका भरीका ५९ ओटै सामुदायिक विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको संर्घष समिति अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन्।
विगतमा आफूहरू गाउँपालिकाबाट तलब पाउँदै आएकोमा अहिले विद्यालय व्यवस्थापन समितिको जिम्मामा छोड्ने गरी गाउँकार्यपालिकाले गरेको निर्णयप्रति उनीहरूले आक्रोश पोखेका छन्। आफूहरूलाई बेलाबेलामा तलब दिने आश्वासन दिए पनि अन्तमा शिक्षकबाटै हटाउने प्रपञ्च रचेकोले आन्दोलनमा उत्रिएको शिक्षक कर्णराम विकले बताए। जिल्लाका अन्य स्थानियतहमा स्वयंसेवक शिक्षकहरूले नियमित रूपमा तलब पाएको भए पनि आफूहरूले भने तलब नपाउनु दुःखको कुरा भएको उनले सुनाए। आफूहरूले काम गरेको पारिश्रमिक नपाउँदा दैनिक घर खर्च चलाउन समेत समस्या भइरहेको गुनासो शिक्षकहरूको छ।
सिगास गाउँपालिकाले भने राजश्व बाडफाडको रकमबाट शिक्षकहरूको तलब दिँदै आएकोमा उक्त रकम केन्द्र सरकारबाट नै प्राप्त नभएकाले तलब खुवाउन नसकिएको जनाएको छ।  आगामी दिनमा उक्त शीर्षकको रकम प्राप्त भएमा तलब दिने गाउँपालिका उपाध्यक्ष द्रोपति चन्दले बताइन्। तर पालिकाका सबैजसो सामुदायिक विद्यालयहरू निजी शिक्षकहरूकै भरमा सञ्चालन भइरहेकाले समयमै तलब दिई आफूहरूलाई पुनः नियुक्ति प्रदान गर्न आग्रह गरेका छन् । तर गाउँपालिकाले भने उनीहरूलाई शिक्षकबाट नहटाएको तर अन्य व्यवस्था नहुन्जेल सम्मका लागी विद्यालय व्यवस्थापन समितिको जिम्मा लगाएको जनाएको छ ।
प्रतिक्रिया दिनुस