नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ। जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो। प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ । छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले परिणाममुखी वार्ता भएको बताए । शीर्ष नेताका साथै कार्यदलका बीचमा भएको छुट्टाछुट्टै छलफल सकारात्मक रहेको बताउँदै उनले केही दिनमै परिणाम दिने गरी काम हुने बताए । ‘छलफल सकारात्मक छ । केही दिनभित्रैमा परिणाम दिने गरी हाम्रो गृहकार्य भइरहेको छ,’ नेम्वाङले राजधानीसँग भने, ‘हामी छलफललाई निरन्तरता दिने र उहाँहरूले उठाउँदै आएका माग सम्बोधन गर्नतर्फ अघि बढेका छौं ।’जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुठा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा उठाउँदै आएको छ । नेकपाले सांसद चौधरीको रिहाइका साथै मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । जसपा नेताहरूले समेत आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको र प्रक्रिया अघि बढेको बताउँदै आएका छन् ।

एमालेबाट संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई र जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यो वार्ता टोलीको छलफल निरन्तर जारी रहेको छ । जसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य कर्णले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको बताए । सांसद चौधरीको रिहाइ, मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको उनले बताए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जसपासहित नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार निर्माण गर्न खोजेको छ । तर, जसपा भित्रै दुई धार निर्माण भएपछि त्यो सम्भव देखिँदैन । यता एमालेले जसपाले उठाउँदै आएको माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाएपछि ओली नेतृत्वको सरकारमै जसपासमेत सहभागी हुने टिप्पणी राजनीतिक वृतमा भइरहेको छ । प्रतिनिधिसभामा जसपासँग ३४ सांसद रहेकोमा दुई जना निलम्बित छन् । जसपासँग सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्रका साथै कांग्रेसले समेत छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुस