सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले २५ मंसिर २०७७ मा जिल्ला अस्पताल दार्चुलामा उद्घाटन गरिएको भेन्टिलेटर शय्यासहितको आइसियु अझै सञ्चालनमा आएको छैन। जडान गरिएको ५ महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसियु प्रयोगमा नआएको हो। प्रदेश सरकारबाट प्राप्त २ वटा भेन्टिलेर शय्यासहित आइसियु कक्ष स्थापना गरिएको थियो। प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसियु स्थापना गरेको थियो।

कोभिड–१९ का संक्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएका आइसियुका लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । ५ महिनाअघि नै जडान गरिएको आइसियु दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल दार्चुलामा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले बताए । अहिले आइसियु चलाउन सक्ने जनशक्ति छैन । गत मंसिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसियु कक्षमा उपकरण जडान गरिएको थियो । तर, विशेषज्ञ जनशक्ति अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन नसकिएको विष्टको भनाइ छ । अहिले अस्पतालमा कार्यरत ४ जना डाक्टर बिदामा छन् ।

अस्पतालमै सामान्य चेकजाँचका लागिसमेत डाक्टर छैनन् । आइसियु कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसियु उद्घाटन क्रममा सरोकारवाला निकायले गम्भीर खालका विरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । तर, ५ महिना हुँदा पनि आइसियु सञ्चालन भए–नभएकोबारे सरोकारवाला निकाय उदासीन बनेको स्थानीयको आरोप छ। कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसियुमा राख्नुपर्ने हुन्छ । तर, त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बिरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ तर जनशक्ति व्यवस्थापन गर्न नसकिएको बताए।

भारतबाट अहिले दैनिक ८० देखि सय हाराहारी नेपाल भित्रिरहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांकअनुसार १० चैतयता दार्चुलाका खलंगा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर ३ हजार ३ सय २४ जना नेपाली घर फर्किएका छन्। प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलंगा नाका भएर १७८ महिला र १ हजार १४० जना पुरुष नेपाल भित्रिएका छन् । यस्तै, दत्तु नाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवि नाका भएर ११४ महिला र १ सय पुरुष तथा लाली नाका भएर १९६ महिला र ३१५ पुरुष नेपाल भित्रिएको प्रहरीको तथ्यांक छ । सदरमुकाम खलंगामा चेकजाँचको व्यवस्था गरिए पनि अन्य नाकामा यस्तो व्यवस्था छैन ।

प्रतिक्रिया दिनुस