पछिल्लो पटक कोरोना हटस्पट बनेको बाँकेमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । विशेष गरेर नयाँ वर्षको आगमनसँगै जिल्लामा कोरोना संक्रमण आक्रामक रूपमा फैलिएको छ । आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
जसअनुसार संक्रमण दर ९२.६ प्रतिशत रहेको पाईएको छ । गएको एक साताको अवधीमा गरिएको परीक्षणको विष्लेशण गर्दा संक्रमण दर अतिनै उच्च रहेकोले जिल्लामा कोरोना नियन्त्रण भन्दा बाहिर गैसकेको पुष्टि भएको भेरी अस्पतालका चिकित्सकहरुले जनाएका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आइतवार मात्रै संक्रमण दर ९२.६ प्रतिशत रहेको भेटिएपछि आफुहरु निकै चिन्तामा परेको जनाउँदै समुदायस्तरमा धेरै ठुलो संख्या संक्रमण फैलिसकेको देखिएको बताए। उनले अब समुदायस्तरमा परीक्षणको आवश्यकता रहेकोले त्यसतर्फ सबैले तत्कालनै ध्यान दिनु आवश्यक रहेको बताए।
बाँकेको गम्भीर अवस्थालाई हेरेर लकडाउनको विकल्प नदेखिएको पनि उनले बताए। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिवार १६६ र शुक्रवार २०० जनामा संक्रमण पुष्टि भएको थियो । गत चारदिनमा मात्रै जिल्लामा ६ सय भन्दा बढी संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा आइतवार पुष्टि भएका कोभिड संक्रमितहरू अधिकांश स्वास प्रस्वास सम्बन्धी समस्या ज्वरो वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामीहरू रहेको प्रयोगशालाले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जले संक्रमणको अवस्था समुदायमा कस्तो छ भनि जान्न समुदाय स्तरबाटै नमूना संकलन गरी परिक्षण गर्न आवश्यक रहेको जनाएको छ । यसका लागि सरकारबाट प्रयाप्त रियजेन्ट र अन्य आवश्यक सामग्री प्राप्त हुने हो भने परिक्षणको दायरा बढाउन अस्पताल सधैं तयार रहेको अस्पतालले जनाएको छ । भेरी अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र संकास्पद विरामीलाइ राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड भरिइसकेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए।