राष्ट्रियसभाको सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलले लगत्तै फेरि मन्त्री पदको शपथ लिएका छन्। आइतबार नेकपा माओवादी केन्द्रको सिफारिसमा पदमुक्त गरिएका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले साविककै गृहमन्त्रीकै जिम्मेवारी दिएका थिए।
साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा बादलले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गरी शपथ दिलाएका हुन्।
बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए। त्यसपछि माओवादी र एमाले एकता भएर नेकपा बनेको थियो। तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमा लागेका छन्।