प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देश तथा विदेशमा हिन्दू धर्मावलम्बी नेपालीहरुले मनाउँदै छन् ।यस दिनमा दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइनुका साथै देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरी चैते दशैँ पर्वलाई मनाइन्छ ।

परिवारका सम्पूर्ण सदस्यहरु भेलाभई मिष्ठान्न परिकार बनाएर खाई यस पर्वलाई रमाइलो गरी मनाइने चलन छ । छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन पनि रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।

चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज वली दिईन्छ । कोरोना भाइरस संक्रमणका कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भएकाले धार्मिक स्थलहरुमा अघिल्ला वर्षहरुको तुलनामा कम घुइँचो भएपनि यस पर्वलाई देशभर उल्लासका साथ मनाइदैछ ।

प्रतिक्रिया दिनुस