-भूवन भट्ट वैशाख ७, महेन्द्रनगर–कञ्चनपुर प्रहरीले असुरक्षा दर्साउँदै नागरिकलाई कार्यालयमा मोबाइल-फोन लैजान प्रतिबन्ध लगाएको छ। नागरिकलाई सुरक्षा दिदै आएको प्रहरीले असुरक्षा महसुस गर्दे विगत एक वर्षदेखी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप्रका प्रवेश गर्ने आम नागरिकलाई मोबाइल, फोन लग्न प्रतिवन्ध लगाएको पाइएको हो।
गत वर्ष जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी बोकी कार्यभार सम्हालेका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सेवाग्राहीबाट असुरक्षा बढेको भन्दै प्रहरी कार्यालय भित्र मोबाइल फोन नलग्न प्रहरी अधिकारीहरुलाइ आदेश जारी गरे। २०७६ फागुन महिना देखी फोन गेटमै राख्न सुरु गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिए।
तर विभिन्न झैँ–झगडा, अन्यायमा परेका, दुःख पाउँदै न्यायका लागी प्रहरीको सहयोग लिन जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयले मोबाइल फोन गेटमै थुनिदिँदा समस्या भएको गुनासो गरेका छन्। मंगलबार प्रहरी कार्यालयमा पुगेका कञ्चनपुरका रमेश विकले मोबाइल फोन गेटमै थुनिएको बताए। कार्यालय भित्र पसेर अत्यावश्यक फोन गर्नुपरे पनि फोनै गर्न नमिल्ने उनले गुनासो गरे।
पीडितको पक्षबाट गएका व्यक्तिहरूले फोन लग्न नदिँदा समस्या हुने गरेको भन्दै सहजता गरिनुपर्ने माग राखेका छन्। नागरिक सङ्घर्ष समितिका अध्यक्ष मिना भण्डारीले कञ्चनपुर प्रहरी कार्यालयमा मात्रै यसरी नागरिकलाई फोन लग्न बन्देज गरिएको पाइएको बताइन्।
उनले भनिन्–‘प्रहरी परिसरमा जाँदा मोबाइल गेटमै राख्नु पर्छ, एसपी साप जेन तेन बहाना बनाएर सुरक्षाको दृष्टिकोणले मोबाइल लग्न नदिइएको बताउनुहुन्छ, नागरिकलाई अनाहकमा दुःख कहिले सम्म?’
जिल्ला प्रहरी कार्यालयमा गएका दैनिक सयौँ नागरिकका फोन गेटमै थुनिदा सम्पर्क गर्न कठिनाइ हुने गरेको सेवाग्राहीले नियमित गुनासो गर्दे आएका हुन्। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने असुरक्षाका कारण आम नागरिकलाई कार्यालय भित्र प्रवेश गरेको अवधि भित्र मोबाइल चलाउन नदिइएको जनाएको छ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले आफू कञ्चनपुर आउनु पूर्व देखिनै यो व्यवस्था लागु भइरहेको बताए। आम नागरिकले कार्यालयभित्र मोबाइल फोन चलाउँदै गोप्य कुराहरू समेत बाहिर लगिएको भेट्टाउँदा असुरक्षा रहन गएपछि मोबाइल बाहिर राख्न लगाएका उनले बताए।
उनले भने, ‘प्रहरी कार्यालय भित्रका झिना–मसिना कुराहरू समेत बाहिर लिक भएको पायौ, हुँदै नभएका हल्ला फैलाउने प्रवृृतीमा रोक लगाउन मात्रै खोजिएको हो।’ उनले कैदीहरूका रेकर्ड गरेर बाहिर लैजाने, गोप्यकुराहरु भंगहुने स्थितिलाई नियन्त्रणमा लिएर शान्त पूर्वक समस्याको निकास खोजिरहेका बताए।
उनले अत्यावश्यक परेका लाई भने पुनः फोन उपलब्ध गराइने दाबी गरेका छन्।