९ वैशाख महेन्द्रनगर–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अबका कक्षा वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने भएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट सतर्कता अपनाउँदै विश्वविद्यालयले एक साता भित्र अनलाइन विधिबाट पठनपाठन सुचारु गर्ने भएको हो।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द वल्लभ पन्तले भीमदत्त नगरपालिका स्थित यस विश्वविद्यालयका क्याम्पस तथा विभागहरूमा अर्को सूचना जारी नभएसम्मका लागी हाललाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको बताए।
बुधवार बसेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले यस विषम परिस्थितिका बिच केन्द्रीय क्याम्पस र धनगढी स्थित कैलाली मल्टीपल क्याम्पसमा भौतिकरुमा नभई वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो। त्यस्तै बाँकी स्थानका हकमा भने सम्बन्धित स्थानियतहहरु सँग समन्वय गरेर स्वास्थ्यका मापदण्ड अनिवार्य प्रयोग गर्दे भौतीकरुपमै या वैकल्पिक माध्यमबाट पठनपाठन गराउने सम्बन्धमा निर्णय गर्न सम्बन्धित क्याम्पसलाई नै जिम्मेवारी दिएको छ।
परीक्षाका सन्दर्भमा भने विश्वविद्यालयले कडा सूरक्षाका बिच भौतिकरुपमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। हाल सञ्चालन भइरहेका परीक्षाहरू स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरी कक्षाकोठामा उपयुक्त दुरी कायम गर्दे भौतिक रुपमा सञ्चालन गर्ने निर्णय भएको सामान्य प्रशासन महाशाखा प्रमुख पन्तले जानकारी दिए।
वैकल्पिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने क्याम्पस⁄विभागहरूले ५ दिन भित्र विद्यार्थीहरूको सूची तयार गरी इमेल आइ डी समेत तयार पारि यही वैशाख १४ गते देखी कक्षा सञ्चालन गराउन विश्वविद्यालयले सूचित गरेको छ।
प्रतिक्रिया दिनुस