
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिक २ कञ्जको भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नरेश राना चयन भएका छन् । विद्यालयमा आयोजित अभिभावक भेलाले रानालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
अध्यक्षमा चयन भएका राना यस विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । त्यसैगरी समितिको सदस्यमा नन्दलाल राना, प्रमिला राना र सीता राना सर्वसम्मत रूपमा चयन भएका छन् ।
कार्यक्रममा बोल्दै सहभागीहरूले नवगठित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
नवनिर्वाचित अध्यक्ष नरेश रानाले विद्यालयको समग्र विकास, शैक्षिक सुधार तथा अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताए । भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाश राना, लालझाडी–२ का वडा अध्यक्ष आशाराम राना, विद्यालयका प्रधानाध्यापक वेद प्रकाश उपाध्याय, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।
विद्यालयबाट शिक्षा हासिल गरेका पूर्व विद्यार्थी नेतृत्वदायी भूमिकामा पुग्नु विद्यालयका लागि गर्वको विषय भएको छ । सबैको सहकार्यबाट विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

