
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले एक आर्थिक वर्षमा कर्मचारीको इन्धन सुविधामा मात्रै ११ लाख ५५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । आ.व. २०८१÷०८२को महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले कर्मचारी इन्धन मापदण्ड, २०७९ बमोजिम स्थायी, करार तथा कामकाजमा खटिएका गरी ६१ जना कर्मचारीलाई इन्धन सुविधा उपलब्ध गराउँदै उक्त रकम खर्च गरेको हो ।

प्रतिवेदनमा अधिकृतस्तरका कर्मचारीलाई मासिक २ हजार ६३५ रुपैयाँ, सहायकस्तरका कर्मचारीलाई मासिक १ हजार ७५० रुपैयाँ तथा श्रेणीविहीन कर्मचारीलाई मासिक ८७५ रुपैयाँका दरले इन्धन सुविधा प्रदान गरिएको उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ (१) र (२) मा स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धी व्यवस्था संघीय कानुन तथा स्थानीय तहले बनाएको कानुन बमोजिम हुने उल्लेख छ ।
महालेखाको प्रतिवेदन अनुसार इन्धन सुविधामा भएको ११ लाख ५५ हजार रुपैयाँ खर्च गाउँपालिकाको ६३ लाख ३३ हजार रुपैयाँ आन्तरिक आयको १८.२३ प्रतिशत हुन आउँछ । प्रतिवेदनले पालिकाको आन्तरिक स्रोत, कार्यबोझ तथा आवश्यकताको विश्लेषण गरी निश्चित मापदण्ड र कार्यविधि बनाएर इन्धन सुविधा खर्चमा नियन्त्रण गर्न सुझाव दिएको छ ।
महालेखाले सीमित आन्तरिक आम्दानीको ठूलो हिस्सा कर्मचारी इन्धन सुविधामा खर्च भएको उल्लेख गर्दै खर्च व्यवस्थापनमा ध्यान दिनुपर्ने औंल्याएको छ ।

