कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रेफर गर्न जिल्लामा ११ एम्बुलेन्सको जोहो गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ७ स्थानीय तहका गरी ८, जिल्ला अस्पतालका २ र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको १ एम्बुलेन्स तयारी अवस्थामा छन्। जिल्लाका ३ स्थानीय तहमा भने अझै एम्बुलेन्स छैनन्।
दशरथचन्द नगरपालिकाका २, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपािलकाका १÷१ एम्बुलेन्स तयारी हालतमा छन्। सुर्नया गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकासँग भने एम्बुलेन्स छैन। पुर्चौडीको एम्बुलेन्स गत वर्ष दुर्घटनामा परेपछि हालसम्म मर्मत गरिएको छैन। कोरोना सङ्क्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए। उनले भने, ‘बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था गरिएको छ।’ सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जनाइएको छ।
चालकलाई सुरक्षित गर्न पञ्जा र मास्कलगायत सामग्री प्रदान गरिएको छ। एम्बुलेन्स चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका जनाइएको छ। त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ गर्ने तरिकाबारे तालिमसमेत प्रदान गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। भारत तथा अन्य मुलुकबाट काम गरेर आएकाहरुका लागि यहाँका स्थानीय तहले हाल क्वारेन्टाइनमा बसाल्ने गरेका छैनन्। जसले गर्दा संक्रमण जोखिम बढ्दै गएको छ। यसका साथै स्थानीय तहहरुले आइसोलेसन निर्माणलगायत अन्य तयारी पनि खासै नगरेको स्थानीयबासीको आरोप छ। बैतडीमा दोस्रो लहरको कोरोना संक्रमणपछि १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ।