बिहिबार गड्डाचौकी नाका भएर स्वदेश भित्रिरहेका नेपाली। 
१६ वैशाख महेन्द्रनगर–कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश भित्रिएका नेपालीहरुलाई परीक्षण बिनै घर पठाउन थालीएको छ।  दैनिक हजारौँको सङ्ख्यामा स्वदेश भित्रिरहेका नागरिकको नाकामा परीक्षण नगरिँदा समुदाय स्तरमा भयावहको स्थिति सृजना हुने देखिएको हो।
गड्डाचौकी नाका भएर बुधवार सम्म करिब २ सयको हाराहारीमा मात्रै कोरोना परीक्षण गरिने गरिएता पनि बिहीबार भने एकदमै जटिल अवस्थामा पुगेकाको मात्रै परीक्षण गर्न थालिएको छ। बुधवार एक हजार नेपाली स्वदेश भित्रिएका थिए भने जसमध्ये २ सय जनाको एन्टिजोन परीक्षण गरिएको थियो।
तर बिहीबार देखी भने जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयले एकदमै जोखिममा परेकाको मात्रै परीक्षण गर्न आदेश जारीगरेपछि परीक्षण बिनै गृह नगर पठाउन थालीएको नाकामा खटिएका स्वास्थ्य कर्मचारीहरूले जानकारी दिएका छन्।  बिहीबार गड्डाचौकी नाका भएर ७ सय ३ जना नेपाली नागरिक स्वदेश भित्रिए। तर उनीहरूमध्ये केहीको मात्रै परीक्षण गरियो। ५१ जनाको मात्रै परीक्षण गरेका हौँ,–‘नाकामा हेल्थ डेस्कका कर्मचारी आकाश बारुलीले भने,–‘ ४ जनामा पोजेटिभ देखियो, अन्यलाई परीक्षण बिनै घर पठाइएको छ।’ किटको अभाव र प्रशासनको आदेश अनुरूप एकदमै जटिल अवस्थामा पुगेकाको मात्रै आज देखी परीक्षण गरिरहेका उनले बताए।
नाकामा परीक्षण बन्द गरिएपछि जोखीम बढाएको सो क्षेत्रका स्थानीय बताउँछन्। एक स्थानीयले भने,–‘नाका भएर आउनेको न त स्वास्थ्य परीक्षण नै भइरहेको छ न त यकिन तथ्याङ्क नै राखिन्छ।’ यसले समुदाय स्तरमा सङ्क्रमण फैलिनेमा चिन्ता व्यक्त गरिएको छ।
यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने सबैको परीक्षण अनिवार्य नभएको जिकिर गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले श्रोत साधनको अभाव र पर्याप्त किट नहुँदा अवस्था हेरी परीक्षण गर्नुपर्ने व्यक्तिहरूको मात्रै परीक्षण गर्न लगाइएको बताए। उनले भने,–‘दैनिक सयौँको मात्रामा स्वदेश भित्रिरहेका छन्, पर्याप्त किट, जनशक्तिको समेत अभाव छ, जटिल अवस्थामा पुगेकाको मात्रै परीक्षण अनिवार्य भनेका हौ।’
उनले भारतका महाराष्ट, मुम्बइ लगायत अत्याधीक महामारी फैलिएको क्षेत्रबाट आएका नागरीकको स्वास्थ्य अवस्थाहेरी परीक्षण गर्न लगाइएको बताए। तर अन्यको हकमा भने परीक्षण बिनै स्थानियतहको समन्वयमा घर पठाइदै गरेको बताए।
बिहीबार हेल्थ डेस्क गड्डाचौकीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ६ सय ५२ जना विना परीक्षण गृह नगर पठाइएका छन्। उनीहरूलाई एक साता जति होम आइसोलेसनमा बस्न लगाइने छ।
प्रतिक्रिया दिनुस