बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञा १५ दिन थप गरेको हो। यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्लाका कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणकालागि १५ दिन थप गर्दै जेठ १७ गतेसम्म निषेधाज्ञा कायम गरिएको हो । जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइने छैन् । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजे सम्म पसल खोल्ने पाइने निर्णयमा थप कडाई गरिएको हो । यसैगरी बैंक तथा बित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीनदिन मात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्व स्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका काम समेत रोक्न भनेको छ ।निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह,ब्रतबन्ध,अन्तिम संस्कार जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन अनुसार कारवाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुस