उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो । ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो । शनिबार सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय जनप्रतिनिधिसमेत सहभागी रहेको व्यास गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहराले जानकारी दिए ।
उच्च हिमाली क्षेत्र भएकाले हिउँदमा जमेको हिउँ पग्लिएपछि भारतीय सुरक्षाकर्मीले पनि गस्ती सुरु गरेको छ । भारतीय सुरक्षाकर्मीले लिपुखोलापारिको गुञ्जी, कालापानी क्षेत्रमा र नेपालको सशस्त्र प्रहरीले वारि रहेको कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो ।
छाङरुमा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रमा साता वा दुई सातामा एकपटक गस्ती गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । एक वर्षअघि व्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना भएको थियो । त्यसलगत्तै बिओपीलाई ५० नं. गुल्ममा परिणत गरिएको हो । छाङरुपछि कालापानीसँग आमनेसामने हुने गरी दुई किलोमिटर दक्षिण–पश्चिमतर्फ अर्को बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल दार्चुलाका एसपी नरेन्द्र बमले जानकारी दिए ।
‘स्थानीयको नाममा रहेको जग्गा नामसारीको प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘छाङरुमा सशस्त्र प्रहरी गुल्मका लागि बनिरहेको भवन निर्माण भएलगत्तै कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी छ ।’ करिब १० करोडको लागतमा छाङरुमा सशस्त्र प्रहरीको ४२ कोठे अत्याधुनिक भवन निर्माण हुँदै छ । चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी निर्माण भइरहेको उक्त भवनको काम गत मंसिरमा हिमपात भएपछि ठप्प भएको थियो । त्यसपछि गत चैतबाट पुनः निर्माण सुरु भए पनि कोरोना महामारीका कारण काम केही प्रभावित भएको निर्माणमा संलग्न ठेकेदार कम्पनी ग्वाल्लेक निर्माण सेवाले जनाएको छ ।