दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने धनगढी–अत्तरिया ६ लेन सडक चार बर्ष बित्दा पनि अझै सम्पन्न हुन सकेको छैन् । कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ । ६ लेन सडक योजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख युवराज पोख्ररेलले २०७४ जेठमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको दोस्रो पटक थपिएको म्याद सकिन लागेको बताए । उनका अनुसार सडकको दायाँबायाँ रेलिङ, फुटपाथ, सर्भिस रोड, ट्राफिक संकेतरसाइन, रोड पेन्टिङलगायतका ‘माइनर वर्क’ मात्रै बाँकी छ ।

९० प्रतिशत काम सम्पन्न भएको भए पनि हालसम्म ७२ प्रतिशत मात्रै ठेक्का रकम भुक्तानी भएको पोखरेलले बताए । उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ४३ करोड बजेट विनियोजन भएको थियो । रकम अपुग हुने भनेर योजना कार्यालयले थप १६ करोड मागेको उनले बताए । आगामी आर्थिक वर्षका लागि काम सम्पन्न भएको ठेक्का रकम भुक्तानी गर्न २५ करोड चाहिने उनले बताए । ६ लेन सडक निर्माणको ठेक्का लुम्बिनी–राजेन्द्र जेभी, डाँफे–लामा र राजेन्द्र जेभी तथा शर्मा–नागार्जुन र अमर ठेकेदार कम्पनीले १ अर्ब ६० करोडमा लिएका हुन् । सडकको क्षेत्राधिकारभित्रको निर्माण भएका संरचना हटाउनमै ढिलाइ भएको कारण समयमा सम्पन्न नभएको तथा लकडाउनको कारण पनि निर्माण कार्य प्रभावित भएकोले तेस्रो पटक म्याद थप्नुपरेको ठेकेदार कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।

६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगे पनि उक्त सडक खण्डमा पर्ने दुई वटा पुलको ठेक्का भने भर्खरै भएको छ । मोहना र सुनी खोलामा पुल निर्माणको ठेक्का राजेन्द्र र उच्वाकोटीले लिएका छन् । मोहना पुलको ठेक्का सम्झौता ६ करोडमा र सुनी खोलाको ३ करोडमा भएको हो ।अत्तरिया धनगढी ६ लेन सडक सुदूरपश्चिमको आर्थिक मेरुदण्ड भएकाले सवारी साधनको चाप बढ्ने भएकाले तीन ठाउँमा आकाशे पुल पनि निर्माण गरिने योजना प्रमुख पोखरेलले बताए । धनगढीको चौराहा, सहिदगेट र राजपुर चोकमा आकाशे पुल निर्माण गरिने भएको छ ।

प्रतिक्रिया दिनुस