अत्तरीया–गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी २९ हजार २८३ मोटरसाइकल, १८ हजार २२४ जीप र कार, १४ हजार २६९ ट्रक, ११ हजार ७५८ ट्र्याक्टर, दुई हजार ८४३ बस र दुई हजार ७१२ अन्य सवारीसाधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ५६ हजार १५३ सवारीसाधनको कारवाहीबाट रु तीन करोड ३१ लाख ९९ हजार ५०० राजश्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २२ हजार ९३३ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने रु एक करोड २५ लाख ६७ हजार ५०० राजश्व बढी सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

सवारी चालकले ट्राफिक नियम उलङ्घन र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सवारीसाधन बढी कारवाहीमा परेका र त्यसबाट राजश्व बढी सङ्कलन भएको उनको भनाइ छ। ‘‘हामीले चेकजाँचमा वृद्धि गरेका हौं। जसले राजश्वसमेत बढेको छ’’, उनले भने, ‘‘कारवाही हुने सवारीको सङ्ख्यासमेत बढेको छ।’’

गत वर्ष यो प्रदेशमा ५६२ सवारी दुर्घटनामा ७८३ सवारीसाधनमा क्षति भएको थियो भने १८७ जनाको ज्यान गएको थियो। सो अवधिमा ५८७ गम्भीर र ५०९ जना सामान्य घाइते भएका थिए। सडकको अवस्था, नागरिकको लापरवाही र तीव्रगतिका कारण सवारी दुर्घटना बढिरहेको र त्यसमा कमी ल्याउनका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रवक्ता सिंहले बताए।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी विभिन्न खाले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने गरेको छ। ट्राफिक नियमपालना गराउन पम्पलेट बाड्ने, विभिन्न सङ्घसंस्थाको सहकार्यमा सडक नाटक देखाउने र विद्यालयस्तरीय कार्यक्रम गर्ने कार्य गर्ने गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुस