कञ्चनपुर श्रावन ६ ।कालापानी खबर साप्ताहिक पत्रिका कञ्चनपुरबाट प्रकाशन भएको छ । सूचना प्रवाह गर्ने कर्तव्य र दायित्व बोध गर्दै सुदूर पश्चिमका आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले मंगलबारदेखि कालापानी खबर साप्ताहिक पत्रिका प्रकाशनमा आएको हो।
मंगलबार एक कार्यक्रमको आयोजना गरी पत्रिकाको विमोचन गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामी र उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले सयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन् ।
पत्रकार ईश्वर दत्त बडू सम्पादक रहेको उक्त पत्रिका अब साताको हरेक मंगलबार प्रकाशित हुनेछ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले पत्रकारिताको आचार संहितामा रहेर पत्रकारिता गर्न आग्रह गरे ।
राष्ट्रिय सुरक्षा, सत्यतथ्य सूचना, घटना र समाचार तथा शुद्ध लेखन सहित प्रकाशत गर्ने कुरामा प्रतिबद्ध रहेको सम्पादक बडूले बताए । सुदूर पश्चिमको उत्तरी सीमा नाकामा रहेको कालापानी क्षेत्र सधै पीडामा रहेको र सीमा सुरक्षा र राष्ट्रिय सुरक्षामा समेत राज्यको नजर पुगोस् भन्ने उद्देश्यले कालापानी नाम चयन गरिएको उनको भनाइ छ ।
कञ्चनपुर लगायत सुदूर पश्चिमका सम्पूर्ण पालिकाका खबरहरूलाई समेट्ने लक्ष्य रहेको उनले बताए । यस अवसरमा पत्रिकाको निरन्तरता र सफल सञ्चालनका लागि सूचना, विज्ञापन घटनाको जानकारी गराएर निरन्तर प्रकाशनमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।