अत्तरिया १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तिन वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ । घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् ।

‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए । आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन् । ‘हत्यारा पत्ता लागेको भए त सार्वजनिक गरिहाल्थ्यौं,’ उनले भने, ‘तर अनुसन्धान साँघुरिएर हामी धेरै नजिक पुगेका छौं, यकिन भएको छैन।’ अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको उनले बताए ।

प्रतिक्रिया दिनुस