अत्तरिया ९ साउन । बैतडीमा मृत फेला परेकी ३७ वर्षीय महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ३ की खेट्टी मल्लको शव आफन्तको जिम्मा लगाइएको बैतडी प्रहरीले जनाएको हो । शुक्रवार बिहान मेलौली नगरपालिका ७ काणा बजार नजिकैको जङ्गलमा मल्लको मृत शरीर फेला परेको बैतडीका प्रहरी प्रवक्ता जनक बहादुर धामीले जानकारी दिए । शनिवार मृतकको पोस्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।

तर मल्लको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता धामीका अनुसार मृतकको शरीरमा कुनै घाँउचोट पटक पनि नरहेको र कुनै आक्रमणमा परेको जस्तो पनि नलागेकाले यकिन भन्न सकिने अवस्था रहेको छैन ।

बिहीबार मेलौली नगरपालिका ५ सेरा माइत जानभन्दै घरबाट हिँडेकी मल्ल माइत भने पुग्न पाइनन् । प्रहरी प्रवक्ता धामीले माइत पुग्नु भन्दा डेढ घण्टा ओरै उनको मृत शरीर फेला परेको जानकारी दिए । प्रहरी निरीक्षक धामीले उनको हिँड्दा हिँड्दै मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको जनाएका छन् । शव बाटो क्षेउमा फेला परेको र केही कारणवश मृत्यु भएको हुन सक्ने उनले जनाए । यद्यपि शवको प्रकृति हेर्दा कुनै हत्या वा अन्य कारण भएको वा नभएको भन्ने पोस्टमार्टम रिपोर्ट पश्चात् नै थाहा हुने प्रहरी प्रवक्ता धामीले बताए ।

को हुन खेट्टी मल्ल ?

बैतडीको मेलौरी नगरपालिका ५ सेराकी खेट्टी मल्ल र डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का ज्ञान बहादुर मल्ल बिच २० वर्ष पहिले विवाह भएको थियो । ३ भाइ रहेका उनीहरू रोजगारीका लागी भारतमै बस्ने गरेका छन् । एक वर्ष पहिले घर आएका ज्ञान बहादुर आर्थिक समस्याले लकडाउनमा घर आउन नपाएको जनाइएको छ ।

खेट्टी घरमा कृर्षी कार्य देखी बाख्रा पालनमा लागेकी थिइन् । उनले ८–१० बाख्रा पालन गर्दे आइकी स्थानीय चक्र बहादुर महतले जानकारी दिए । बिहीबार भने छिमेकीलाई बाख्रा हेरिमाग्ने जिम्मा लगाएर माइत हिँडेकी मल्ल शुक्रवार एक्कासि मृत फेला परेपछि दुख लागेको स्थानीय महत बताउँछन् । मृतकको शनिवार साझँ दाहसंस्कार गरिएको स्थानियले जनाएका छन् । उनको मृत्यु नभई हत्या हुन सक्ने घटना स्थलबाट बैतडीका स्थानीय रोशन भट्टले आशङ्का व्यक्त गरे । माइत पुग्न नपाउँदै भएको उनको मृत्युले हत्या गरिएको हुन सक्ने स्थानीयहरूले आशङ्का व्यक्त गरेका छन् । प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने स्थानीय महतले माग राखे । मृतक मल्लकी एक छोरी रहेकी छन् । उनी कञ्चनपुर स्थित दोधाराचादनी नगरपालिकामा कक्षा १२ मा अध्ययनरत रहेको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुस