अत्तरिया १३ साउन । सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ। असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन महिना लागेसँगै ३७ प्रतिशतमा उक्लिएको हो । सुदूरपश्चिममा संक्रमण दर अन्य ६ प्रदेशभन्दा धेरै रहेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेख अनुसार असार २५ देखि ३१ गतेसम्म एक हजार ५ सय ३१ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण पुष्टि भएको थियो । यो १५ प्रतिशत हाराहारी हो । तर, साउनको पहिलो सात दिनमा ५ सय ६७ जनाको पीसीआर जाँच गर्दा २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ। यो झन्डै ३७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखअनुसार सुदूरपश्चिमपछि संक्रमण दर गण्डकीमा बढी छ । साउनको पहिलो सात दिनमा गण्डकीमा ३६ प्रतिशत संक्रमण छ । ३ हजार ७ सय ५१ जनामा पीसीआर जाच गर्दा एक हजार ३ सय ६४ जनामा संक्रमण देखिएको हो । कर्णालीको साप्ताहिक संक्रमण दर ३५ प्रतिशत छ। सबैभन्दा बढी पीसीआर परीक्षण भएको वाग्मतीमा १९ प्रतिशत संक्रमण दर देखिएको छ। ३६ हजार ६८ जनाको परीक्षण गर्दा ६ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ३० प्रतिशत संक्रमण छ । साउन पहिलो साता १० हजार ५ सय ९८ जनाको परीक्षण गर्दा प्रदेश १ मा ३ हजार १ सय ९ जनामा संक्रमण देखिएको हो । प्रदेश २ मा सबैभन्दा कम संक्रमण दर छ । मन्त्रालयको अभिलेखअनुसार २ हजार ५ सय १७ जनाको पीसीआर जाच गर्दा १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा लुम्बिनीमा १६ प्रतिशत संक्रमण दर छ ।

सुदूरपश्चिममा सेती अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर, डडेलधुरा, डोटी, बझाङ, बैतडी र कमलबजार अस्पताल अछाममा पीसीआर ल्याब सञ्चालनमा छन । साउनको पहिलो साता धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीको प्रयोगशालामा पीसीआर जाच भएको छ। साउनको पहिलो सात दिनमा सबैभन्दा धेरै धनगढीमा ४ सय ६२ परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, डडेलधुरा ल्याबमा ७८ जनाको परीक्षण गर्दा १९ जना, महेन्द्रनगर ल्याबमा ७० जनाको पीसीआर जाँच गर्दा १४ जना संक्रमित भेटिएका छन। बैतडी अस्पतालमा १२ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ‘असारको अन्तिम साताभन्दा साउनको पहिलो साता पीसीआर रिपोर्टका आधारमा संक्रमण दर दोब्बरभन्दा बढीले बढेको छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको तथ्यांकबाट पुष्टि हुन्छ ।’

प्रतिक्रिया दिनुस