हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन । सुदूरपश्चिम प्रदेश सरकारबाट गत वर्ष छनौट भएका नमुना क्याम्पसहरूमा पर्न सफल कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पस पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएको छ । ग्रामीण भेगमा समुदाय स्तरबाट सञ्चालित महाकाली बहुमुखी क्याम्पसले आधुनिक प्रविधियुक्त व्यवस्थापनमा जोड दिएको छ । सूचना प्रविधि मैत्री क्याम्पसका रूपमा स्तरोन्नति गर्ने उद्देश्यले क्याम्पसमा प्राध्यापनरत २५ जना प्राध्यापकहरूलाई जनही एक थानका दरले ल्यापटप वितरण गरिएको छ भने सिसिटिभी क्यामेरा जटित क्याम्पसका सबै कक्षाकोठामा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशीले बताउनु भयो ।

क्याम्पसले आधुनिक प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधिलाई अगाडि बढाउने गरी उपलब्ध गराएका ल्यापटपको सहायताबाट शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग पुग्ने क्याम्पसका प्राध्यापकहरूको भनाइ छ । हाल स्नातक तहसम्म सञ्चालित महाकाली बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तहसम्म सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह बिष्टले जानकारी दिनुभयो । गत वर्ष सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पसका लागि छनौट गरेका सुदूरपश्चिमका ९ जिल्लाका ९ वटा क्याम्पसहरू मध्ये कञ्चनपुर जिल्लाबाट महाकाली बहुमुखी क्याम्पस बेलौरी छनौट भएको थियो । त्यसयता क्याम्पसले पाउने अनुदानमा समेत वृद्धि भएको छ भने प्रविधिको समेत विकास भइरहेको महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य पल्लवराज भट्टको भनाइ छ ।

भौतिक पूर्वाधार, खानेपानी, सञ्चार, विद्युत् सहित वैकल्पिक ऊर्जा, चमेना गृह आदिको उपयुक्त व्यवस्थापन र शान्त वातावरण सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको महाकाली बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितताको प्रत्ययन प्रमाण पत्र (क्युएए) प्राप्तिको प्रक्रिया समेत अगाडि बढाइएको महाकाली बहुमुखी क्याम्पसका प्राध्यापक एवं क्युएए संयोजक दयाकृष्ण जोशीले बताउनु भयो । ग्रामीण भेगमा सञ्चालित उक्त क्याम्पसले विभिन्न समयमा रक्तदान, सरसफाइ, जनचेतनामूलक कार्यक्रम सहित अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आइरहेको छ । स्नातक तहको परीक्षा केन्द्र समेत सञ्चालित महाकाली बहुमुखी क्याम्पसलाई थप स्तरोन्नतिका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुस