बैतडी :  तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले पाटन नगरपालिकामा तालाबन्दी गरेका छन् । संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन् ।

बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने सिगास मावि गौरीशँकर पोखरी गुरुडाका बालशिक्षक बिस्ना केसीले बताइन् ।

संघीय सरकारले स्थानीय श्रोतबाट तलब थपेर खुवाउनुपर्ने परिपत्र गरेकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउन अप्ठ्यारो परेको नगरपालिकाले जनाएको छ। बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको मागप्रति आफूहरु सकारात्मक रहे पनि बजेट अभावका कारण समस्या भएको नगर उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले नगर प्रमुख जिल्ला बाहिर रहेकाले नगरप्रमुख आउने बित्तिकै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबका विषयमा छलफल गरिने नगरपालिकाले जनाएको छ । तर बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफूहरुका माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने बताएका छन् । कतिपय स्थानीयतहरुले तलब वृद्धि गरेका भए पनि पाटन नगरपालिका आफूहरुका मागप्रति गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुस