महेन्द्रनगर–नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले निजी इन्जिनियरिङ कलेजहरुले शुल्क बढाएको भन्दै विरोध गरेको छ। शुक्रबार अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा विरोध जनाइएको हो । केही दिनदेखि निजी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले शुल्क बढाएको भन्दै आन्दोलन गरिरहेका छन् । विज्ञप्तिमार्फत् क्रान्तिकारीले सो आन्दोलनमा एक्यबद्धता पनि जनाएको छ।

२०६६ सालमा शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित शुल्क निर्धारण समितिले इन्जिनियरिङ क्षेत्रका निजी कलेजहरुको चार वर्षे कार्यक्रमको चार लाख ८६ हजार पाँच सय ९२ रुपैयाँ शुल्क निर्धारण गरे तापनि निजी इन्जिनियरिङ कलेजहरुले तीन गुणा बढी शुल्क असुल गर्दै आइरहेका छन् ।

विज्ञप्तिमा सो सवालमा इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले अनुगमन गर्ने र बढी शुल्क लिनेहरुलाई कारवाही गर्नुको सट्टा उल्टै निजी इन्जिनियरिङ कलेज सञ्चालकहरुसँग मिलेमतो गरेर आफ्नो स्वार्थसिद्धमा तल्लीन रहेको आरोप लगाइएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट सिङ्गो मुलुक नै आक्रान्त बनेको अवस्थामा निजी इन्जिनियरिङ कलेजहरुले तोकिएको शुल्कभन्दा तीन गुणासम्म बढी शुल्क उठाउनका लागि ताकेता गरेको हुँदा विद्यार्थीहरुले आन्दोलन गरिरहेको सो संगठनको भनाई रहेको छ ।

साथै विज्ञप्तिमा विद्यार्थीहरुको माग सम्बोधनका निम्ति सम्बन्धित पक्षहरुसँग अपिल पनि गरिएको छ । विज्ञप्तिमा इन्जिनियरिङ अध्ययन संस्था (आईओई)लाई गम्भीर भएर २०६६ सालमा भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि जोडदार अपिल गरिएको छ । कोभिड–१९ का बेला कम्तीमा दुई सेमेस्टरको अवधिमा भौतिकरुपमा कक्षा सञ्चालन नभएको हुँदा उक्त अवधिको शुल्कमा एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले १० प्रतिशतभन्दा बढी छुट दिन नसक्ने बताउनुले हामीलाई थप गम्भीर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ । ‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित पक्ष नै हुने जानकारी समेत गराउँदै विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नगर्ने तर शैक्षिक क्षेत्र अस्तव्यस्त पार्ने गतिविधि अन्त्यका लागि नेपाल सरकार सक्षम आम विद्यार्थीहरुलाई अविलम्ब कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी भौतिकरुपमा परीक्षा र कक्षा सञ्चालन गर्नसमेत अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुस