डोटी – डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।

नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारणले रहेको गर्भ पतन गर्न पाउने सरकारले कानुनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको बताइएको छ ।

यसै सिलसिलामा त्यस संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रुपमा सहयोग गरिरहेको कार्यक्रमका फोकल पर्सन सिद्धराज जोशीले बताए । लकडाउनका कारण पुरुषहरु घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण आफूहरु पछि गएर सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाहरु बताउँछन्।

यस्तै गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण डोटीमा पछिल्लो समय गर्भपतन सेवा लिनेहरुको सङ्ख्या बढेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले जानकारी दिए ।

सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउन महिनासम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका कार्यालय प्रमुख शिवराज जोशीले बताए । केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २ सय जनाले गर्भपतन गराएका इलाका स्वास्थ्य कार्यालय वायलले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डोटीमा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि दुई हजार २ सयभन्दा बढी महिलाले गर्भपतन गराएका छन् । कार्यालयका अनुसार गएको आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताए।

प्रतिक्रिया दिनुस