सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यातायातको बिमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग अघि सार्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
आफूहरूको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि सम्बोधन नभएको भन्दै आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । महासंघले भोलि वाग्मती प्रदेशअन्तर्गतको यातायात कार्यालयमा धर्ना दिने र पर्सि यातायात व्यवस्था विभागमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
सरकारले आफूहरुको माग पूरा नगरे भदौ २४ गतदेखि सार्वजनिक सवारीमा भाडा समायोजन गरी लागु गर्ने चेतावनी व्यवसायीले दिएका छन् । अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको ब्याज मिनाहा र किस्ताको म्याद कम्तीमा दुई वर्ष थप गर्नुपर्ने बताए । उनले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफूहरुको माग रहेको पनि बताए ।