नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ। अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले थाहाखबरलाई जानकारी दिइन्।

उनले भनिन्, ‘शुक्रबार दलले आधिकारिकता पायो। हामी अहिले अनौपचारिक छलफलमा छौं। भोलिबाट हामी अनौपचारिक र औपचारिक दुवै किसिमले बैठक बस्छौं। मलाई लाग्छ, अबको एक साताभित्रमा नै हामी संसदीय दललाई पूर्णता दिन्छौँ।’ संसदीय दल गठनलगायत विषयमा छलफल गर्न सोमबार बैठक बस्ने र त्यसपछि टुंगो लाग्ने उनको भनाई छ।

बैठक आइतबार बस्ने तयारी भए पनि कारणवश स्थगित गरिएको उनले बताइन्। ‘एमालेबाट अलग भएपछि हामीले छलफल गर्न पाएका छैनौँ,’ उनले भनिन्, ‘भोलि ज्येष्ठ सदस्यबाट बैठक बोलाएर बस्दैछौँ। अनि छलफल र सहमतिमै दलको नेता चयन र संसदीय दल गठन हुन्छ।’ संसदीय दलको नेताका लागि मन्त्री जोशीसहित एकीकृत समाजवादी गठनका क्रममा सांसदलाई सनाखत गराउन अन्तिमसम्म खटिएका भौतिक पूर्वाधार तथा योजनामन्त्री दीर्घ सोडारी, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत रहेका सांसद तारा लामा तामाङ आकांक्षी छन्।

१४ सांसदसहित सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादी संसदीय दलको नेताबारे निकै चासोका साथ हेरिएको छ। तत्कालीन एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा लागेका छन्। प्रदेशसभामा एमाले चौथो दलमा खुम्चिएको छ। तत्कालीन माधवकुमार नेपाल समूहका सांसद दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारा लामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमर बहादुर साउद, बलबहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साउद, चुनुकुमारी चौधरी, सुशील बुढाथोकी र माया तामाङ बोहरा ९ओली समूह० ले एमाले छाडेर समाजवादीमा सनाखत गरेका थिए।

दलको नेता को बन्ला ?

संसदीय दलको नेतामा ४ सांसद आकांक्षी देखिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सांसद तारा लामा तामाङ र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट आकांक्षी देखिएका हुन्। एकीकृत समाजवादीनिकट स्रोतका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र सांसद तामाङमध्ये एक जना संसदीय दलको नेता बन्ने प्रबल सम्भावना छ। स्रोत भन्छ, ‘संसदीय दलको नेता दीर्घ कमरेड र तारा लामा कमरेडमध्ये एक जना हुने लगभग पक्का छ। सहमति गरेर एक जना नेता बन्नुहुन्छ।’

यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व–उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट पनि संसदीय दलको नेता बन्ने लाइनमा रहेको बताइएको छ। दुवै जना एकीकृत समाजवादीमा खुल्ने पहिलो सांसद हुन्। एकीकृत समाजवादीमा उनीहरू केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत छन्।

यस्तै प्रमुख सचेतकमा भने दुर्गा कामी रहने बताइएको छ। उनी तत्कालीन एमालेकी पनि प्रमुख सचेतक थिइन्।

प्रतिक्रिया दिनुस