काठमाडौं । सरकारले प्रत्येक वर्षको चाडपर्वमा जस्तै यस वर्ष पनि दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । यस्ता पसलमा उपभोक्ताले अन्यत्रभन्दा २० प्रतिशतसम्म कम मूल्यमा उपभोग्य सामानहरु खरिद गर्न सक्नेछन् । बजारको मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सहजरुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । सरकारले यसका लागि सवा तीन करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ । आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसलहरु सञ्चालनमा आउनेछन् ।

प्रत्येक वर्षको दशैं(तिहारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुपथ मूल्य पसल चलाएर सस्तोमा सामान बिक्री गर्ने गरेका छन् । साल्ट ट्रेडिङ्गले ग्यास, चिनी, चामल र दाल लगायतका बस्तुहरु बिक्री गर्छ भने खाद्य कम्पनीले जुम्लाको सिमी, विभिन्न प्रकारको दाल, ग्यास र फापर बिक्री गर्छ । कम्पनीले दशैंमा विभिन्न ठाउँबाट खसीबोका ल्याएर समेत बिक्री गर्ने गरेको छ ।

चाडपर्वका लागि सञ्चालनमा ल्याइने सुपथ मूल्य पसलमा सामान्य पसलमा भन्दा करिब २० प्रतिशतसस्तो हुने साल्ट टे«डिङले बताएको छ । संस्थानका सूचना अधिकारी कुमार राजभण्डारीले सामान्य पसलमा भन्दा अहिले पनि साल्ट ट्रेडिङ्गले ५ देखि १० प्रतिशत सस्तोमा नै सामान बिक्री गरिरहेको जानकारी दिए । भण्डारीले भने, ‘हामीले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने छौं । सरकारले निर्णय पनि गरिसकेको छ । साल्ट ट्रेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलले अरु पसलले भन्दा १५ देखि २० प्रतिशत सस्तोमा खाद्यान्न बिक्री गर्ने छ ।’

यस वर्षको दसैँमा चिनी भने साल्ट ट्रेडिङसँग छैन । अर्थ मन्त्रालयले चिनी आयात गर्न अहिलेसम्म बजेट नदिएको भण्डारीले बताए । ‘अब बजेट दिए पनि भारतबाट चिनी आयात गर्न सकिने समय छैन,’ उनले भने । अघिल्लो वर्ष चाडपर्वमा २० मेट्रिक टन चिनी भारतबाट ल्याएर साल्ट ट्रेडिङ्गले बिक्री गरेको भन्डारीले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेबाट कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि चामल, तेल र खसी(बोकामा छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गर्नेछौं । कम्पनीले २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिनेछ । उद्योगको मूल्यमा नै खाने तेल पनि बिक्री गर्ने कुरा भइरहेको छ ।’न्यौपानेका अनुसार चामलमा प्रतिकेजी ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालन हुने छ । अन्य कुन–कुन बस्तुमा छुट दिने भन्ने मन्त्रालयबाट पत्र आएपछि मात्रै थाहा हुने उनले बताइन् ।

उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले सुपथ मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ्गलाई १ करोड ५० लाख र खाद्य कम्पनीलाई १ करोड ७५ लाख बजेट निकासी भएको बताइन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले चाडपर्वको बेला देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । खाद्य कम्पनीले काठमाडौं उपत्यकासहितका ४० जिल्लामा ४३ वटा र साल्ट ट्रेडिङले ३८ वटा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । पसल असोज १ गतेदखि २४ गतेसम्म सञ्चालन हुनेछन् ।

गत वर्ष उच्च मूल्यका कारण च्याङ्ग्रा ल्याउन नसकेको कम्पनीले यस वर्ष पनि च्याङ्ग्रा नलाउने भएको छ । कुन ठाउँबाट कति खसीबोका ल्याउने भनेर अध्ययन शुरु भएको सूचना अधिकारी न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुस