नेकपा (एमाले) मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान हटाएको थियो। तर, उमेर हद लागु भएपनि १० औँ महाधिवेशनमा त्यसको प्रभाव नपर्ने भएको छ।

११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै अध्यक्षको दाबेदार मानिएका भीम रावल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम्वाङलगायत नेताहरू समेत बाहिरिनेछन्। ७० वर्षे हदम्यादअनुसार उनीहरु १० औँ महाधिवेशनको कार्यकालमा मात्रै पदाधिकारी बन्न पाउँछन्।

१० औँ महाधिवेशनमा ओलीबाहेक दोस्रो अनुहार अध्यक्षमा दाबी गर्ने सम्भावना कमै देखिएको छ। माधव नेपाल र झलनाथ खनालले पार्टीबाट विद्रोह गरेर निस्केपछि ओलीसँग अध्यक्षमा भिड्ने अर्को व्यक्ति तत्काललाई देखिएको छैन। एमालेका दोस्रो तहका नेताहरु ओलीलाई नै अध्यक्ष स्वीकार गरेर जान तयार छन्। ओलीसँगै ५ वर्षपछि हुने ११ औँ महाधिवेशनमा अध्यक्षको दाबेदार मानिएका अधिकांश नेताहरु बाहिरिने पक्का छ। ओलीपछि अध्यक्षको दाबेदार मानिएका भीम रावल २०१३ मंसिर २९ (६५), अष्टलक्ष्मी शाक्य २०१० असोज १४ (६८), ईश्वर पोखरेल २०१० माघ २२ (६८) सुवास नेम्वाङ २००९ फागुन २८ (६९) बर्ष भइसकेका छन्। यीबाहेक अमृतकुमार बोहरा, केशव बडाललगायतका नेताहरु पनि ७० वर्ष पार गरिसकेका हुनेछन्।

एमाले विभाजनको बेलामा माधव नेपाललाई छाडेर तेस्रो धार खडा गरेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहोरा, योगेश भट्टराई, गोकर्ण विष्टबाहेक अन्य नेताहरु ओलीको विरुद्ध उभिने मनस्थितिमा छैनन्। नेकपाको एकता भंग भएर आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरुले पनि ओलीलाई नै नेता मानिरहेकाले १० औँ महाधिवेशनमा ओलीको विकल्प अर्को आउन सक्ने अवस्था छैन। त्यसैले पार्टीमा ओली नै हावी भइरहन्छन्।

उमेर हद कायमै रहेपनि मंसिरमा हुने महाधिवेशनले ओलीलाई छेक्दैन। ओली २००८ साल फागुन ११ मा जन्मिएका हुन्। अध्यक्षमा निरन्तरता दिनको लागि ओलीलाई मंसिरमै महाधिवेशन गर्न बाध्यता छ। नवौं महाधिवेशनबाट कार्यकारी पदमा ७० वर्षे उमेर हद लागु गरिएको थियो । अध्यक्ष ओलीसहितका नेताहरु बाहिरिने भएपछि ११ औँ महाधिवेशनबाट दोस्रो पुस्ताका नेताहरुको हातमा नेतृत्व पुग्छ। ईश्वर पोखरेल, भीम रावलसहितका नेताहरु समेत बाहिरिने भएपछि घनश्याम भुसाल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु नेतृत्वमा पुग्ने अवसर पाउँछन्।

एउटै पदमा दुई कार्यकाल मात्रै  !

नेकपा एमालेको एउटै पदमा दुई कार्यकालभन्दा धेरै बस्न नपाउने व्यवस्था लागु गर्न प्रस्ताव गरेको छ। स्थायी कमिटीको अनुमोदनपछि यही ८ र ९ गतेको केन्द्रीय कमिटी मार्फत् विधान महाधिवेशनले पारित गर्ने गरी एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्था लागु गर्ने प्रस्ताव भएको हो।

जिल्लादेखि केन्द्रसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बस्न पाउदैनन्। पार्टी सदस्य बनेको १० वर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था भएकाले पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलब भत्ताको समेत व्यवस्था गर्ने भएको छ।

विधान संशोधन प्रस्तावमा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचन प्रणालीबाटै आउने प्रस्ताव भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। सोमबारको स्थायी कमिटी बैठकपछि भट्टराईले भनेका थिए, ‘असोजको १५ देखि १७ गते विधान महाधिवेशनमा प्रस्तुत गर्नेगरी प्रतिवेदनहरू स्थायी कमिटीबाट अगाडि बढेको छ। बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको छ।’

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव, केन्द्रीय कमिटी सबै निर्वाचित भएर आउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुस