काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।
‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ । कांग्रेसले १३ जिल्लामा भने क्रियाशील सदस्यताकै टुंगो लगाउन सकेको छैन ।