कैलालीको चुरे गाउँपालिकामा दुई वर्ष अघि पहिरोबाट विस्थापित भएकाहरू अहिले पनि जङ्गलमै बास बसिरहेका छन्। स्थानीय सरकारको उदासीनताका कारण आफूहरूको बिचल्ली भएको उनीहरूको गुनासो छ। गत वर्षको बर्सातमा विस्थापित ३ सय परिवार मध्ये अधिकांश अझै पनि जङ्गलमा टहरा बनाएर बसिरहेका छन्। केहीले सडक छेउमा आश्रय लिइरहेका छन्।

‘हाम्रो व्यवस्थापन अझै भएन खै कहिलेसम्म यसरी बस्नु पर्ने हो,हेर्नेलाई थाहा हुँदैन भोग्नेहरूको पीडा,’चुरे ५ का गणेश थापाले भने,‘गाउँपालिकाले त हाम्रा समस्या सुन्न नै खोज्दैनन्,कुन दिन जङ्गलमै सास जान्छ।’ गाउँ–गाउँमा सडक पुर्‍याउने होडबाजीले पहिरो जाँदा तीन सय बढी परिवार विस्थापित हुनु परेको स्थानीय हरिस बोहराले बताए। ‘जथाभाबी सडक काटिए,बर्सातको समयमा त्यसमै पहिरो गएर हाम्रो घर खेत नै लगे पछि जङ्गलको वास भयो,’बोहराले भने,‘हामीलाई सरकार नभएको आभास भइरहेको छ।’

जङ्गलबाट फर्किएकाहरू पनि अन्यत्र आश्रय नपाउँदा फेरी सडक छेउमै टहरा बनाएर बसिरहेका छन्। ‘जङ्गली जनावरको आतङ्कले बस्न सक्ने अवस्था नै आएन,जङ्गलबाट त गाउँ फर्कियौँ तर कहाँ बस्ने विद्यालयमा बस्न पनि दिएनन्,कुनै विकल्प नभएपछि अहिले सडकछेउमा त्रिपालमुनि बस्न बाध्य छौँ,’चुरे ५ गुणीका रमेश खत्रीले भने,’हाम्रा लागि उचित व्यवस्थापन गरिदिन भनिरहेका छौँ तर कसैले सुनेका छैनन्।’

पहिरोले चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायत गाउँका नागरिक विस्थापित भएका छन्। दुई वर्ष जङ्गलमा आश्रय लिँदा पनि उनीहरूको उद्धारका लागि कुनै निकायले पहल गरेका छैनन्।

‘रातदिन पिरलो मात्र छ,कसरी मनाउनु चाडपर्व’

सबै तिर चाडपर्वको रौनक छाउँदा चुरेका पहिरो पीडितलाई भने झन् चिन्ता थपिएको छ। दसैँको मुखमा सबैले घर रङ्गाएका छन्,घरमा आफन्तहरूको आगमन,मिठो पकाउने र राम्रो लगाउने तथा किन्ने काम भइरहेको छ तर चुरेका तीन सय पहिरो पीडितलाई साँझ बिहानकै छाक टार्न मुस्किल छ। ‘दसैँ आयो तिहार आउँदै छ,तर दुई वर्ष यता हाम्रो सबै खुसी लुटियो,त्यसपछि हाम्रा लागि कहिले चाडपर्व आएको छैन,’सपरिवार जङ्गलमा आश्रय लिइरहेकी सिता पहराइले भनिन्,‘पहिरोले घर खेत बगाउनु भन्दा पहिले त हामीले पनि सक्दो गरेर चाडपर्व मनाउँथ्यौँ,तर अहिले जङ्गलमा कसरी मनाउने चाडपर्वरु अचेत त किन आउँछन् होला चाडपर्व जस्तो लाग्छ,साथमै छोरा–छोरी छन्,दाल–भात खुवाउनै सकिरहेका छैनौँ, दशैँ तिहारमा पनि जसो त गुजारा चलाउँला।’

चाडपर्वको बेला पनि कुनै उमङ्ग नभएको स्थानीय पवित्रा सापकोटाले बताइन्।

‘दिन त कट्छ जसो तसो रात कटाउन निकै गाह्रो हुन्छ,‘उनले भनिन्,‘खेतबारी पहिरोले बगायो घरमा रहेको अन्नबाली पनि सकियो,अहिले चामल किनेर गुजारा चलाइरहेका छौँ,खोलाको पानी पिउँछौँ,जङ्गली जनावरको त्रास हुन्छ,अनि कसरी मनाउनु चाडपर्वरुसामान्य ढङ्गले टिका लगाएर मनाउने सोचेका छौँ,अव नयाँ लुगा लगाउने र मिठो खाने त हाम्रो लागि सपना जस्तै हो।’

पहिरो पीडितको व्यवस्थापन हुन अझै समय लाग्ने चुरे गाउँपालिकाले जनाएको छ। ‘अहिले ३ सय पहिरो पीडित परिवार जङ्गल र सडकछेउमा आश्रय लिइरहेका छन्,’गाउँपालिका अध्यक्ष धन बहादुर रोकामगरले भने,‘उहाँहरूको उचित व्यवस्थापनका लागि हामी पहल गर्दै छौँ,अझै केही समय लाग्छ,प्रदेश र सङ्घीय सरकारसँग समन्वय भइरहेको छ।’

प्रतिक्रिया दिनुस