दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ। असोज २४ गते जुवाखालबाट पक्राउ परेका व्यास गाउँपालिका ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैँसम्मका लागि छाडेको हो। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो।

२ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो। दशैं मनाउन उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

उनले थाहाखबरसँग भने, ‘पक्राउ परेकाहरूलाई दशैंका लागि छाडिएको हो। उनीहरूलाई १५ दिन हिरासतमा राख्न म्याद थप समेत गरिएको अवस्था हो। दशैंतिहारलाई ध्यानमा राखेर उनीहरूलाई जिम्मेवार व्यक्तिको हाजिरी जमानीमा छोडिएको हो। दशैँतिहारको समय भएकाले उनीहरूलाई पर्वको समयका लागि छाडिएको हो।’ उनले अहिले पनि अनुसन्धान भइरहेको बताउँदै दशैँपछि कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए।

गत २४ गते जिल्ला सदरमुकाम खलंगास्थित तिकंरखेडाका स्थानीय प्रेमसिंह बुढाथोकीको घरबाट साढे २ लाखसहित १२ जना जुवाडे पक्राउ परेका थिए। प्रहरीले घरभित्र जुवा खेल भइरहेको विषेश सूचनाको आधारमा छापा हान्दा उनीहरू पक्राउ परेका थिए। जुवाखालबाट २ लाख ३७ हजार तीन सय ९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको प्रहरीले बताएको थियो।

प्रतिक्रिया दिनुस