महेन्द्रनगर । कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू पहिरोले अवरुद्ध सडकमा थुनिएका छन ।

मन्त्री नियुक्त भएपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्ला दार्चुलाको यात्रामा छन्।
गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक अवरोध हुँदा बैतडीको दोगडाकेदार गाउँपालिका डिक्गाडमा पहिरोले अबरुद्ध सडकमा परेका हुन ।

सडकमा मन्त्री बडु थुनिएपछि डोजर ल्याएर बाटो सफाइ गरीएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतमले भने, ‘मन्त्रीज्यू अहिले खोचलेकबाट हिँड्नुभएको छ। डोजरले पहिरो हटाउदै अगाडि बढेका छौँ।
उनका अनुसार अगाडि अगाडि डोजर चलाइएको छ र पछि पछि मन्त्री बडूको गाडी छ।

सडक अवरोधका कारण मन्त्री बडूको कार्यतालिका नै प्रभावित भएको छ।

अविरल वर्षापछि सडकमा पहिरो खस्दा सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग र सहायक सडकहरु अवरुद्ध छन्।

दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र कैलालीको पहाडी भागमा सडकमा पहिरो खसेको छ।

ट्राफिक प्रहरीका अनुसार बैतडीको खोडपे–बझाङ सडक अवरुद्ध छ।

उक्त सडक खण्डको विजयपुरमा सडक माथिबाट पहिरो खस्दा सवारीसाधन थुनिएका छन्।

भीमदत्त राजमार्गको फल्टुडे–सहजपुर खण्डमा पनि पहिरो खसेको छ। अछामको चौखुट्टे–साफेबगर खण्डमा पनि पहिरोकै कारण सवारीसाधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्।

सदरमुकाम मंगलसेन जोड्ने सडक खण्डको कैलाशखोलामा पनि पहिरो झरेको छ। सडक अवरोध हुँदा यात्रुहरु बाटामै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुस