महेन्द्रनगर । कञ्चनपुरमा तरकारीको मुल्य आकासिएको छ । जिल्लामा तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको मण्डी व्यवशायी संघले जनाएको हो । एकातिर भारतबाट ल्याइने तरकारीले समेत उत्पादीत तरकारीले बजार नपाउने समस्या देखीएको गुनासो गरिएको छ ।

पहाडी क्षेत्रबाट आउने तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु ५०, ३५ मा बिक्री हुने रातो आलु ६०, ६० मा बिक्री हुँदै आएको पहाडी आलु ८० मा बिक्री भइरहेको मण्डी व्यवशायी संघ कञ्चनपुरका अध्यक्ष विसाल सुनारले जनाए । त्यस्तै ८० मा बिक्री हुँदै आएको प्याज १०० देखि १२०, गोलभेँडा ठूलो ८० बाट १२०, फर्सी ६० बाट १००, लौका ५० बाट ९०, बोडी ६० बाट १२० तथा काउली ६० बाट ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भण्टा ६० बाट १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी ८० बाट १६०, तितेकरेला ६० बाट १४० र खुर्सानी ८० बाट १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।

यता स्थानीय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन । तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको अध्यक्ष सुनारले बताए । हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो ।
भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ ।

प्रतिक्रिया दिनुस