महेन्द्रनगर । बर्दीको दम्भ देखाउँदै कञ्चनपुरमा एक प्रहरी जवानले स्थानीयको घरमै गई हप्काइ दप्काई गरेको घटना सार्वजनिक भएको छ । गत असोज ३१ गते जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डामा एक स्थानीयको घरमै पुगी प्रहरीले बर्दीको आड देखाउँदै दुर्व्यवहार गरेको पीडितका परिवारले दुखेसो पाखे ।
प्रहरी चौकी पचुइका जवान देव बहादुर विष्टले स्थानीय प्रवेश महराको घरमा पुगी पारिवारिक कलह साध्न दुर्व्यवहार गरेको दाइ लाल महराले दुखेसो पोखे । उनले भने,–‘विगतमा आफ्नो परिवार सँग मनमुटाब र गालीगलौज गर्दे आएका विष्टले सोही रिसीभी साध्न दसैँ पर्वमा घरमै पुगी भाइ सँग दुर्व्यवहारमा उत्रिए, प्रतिकार स्वरूप भाइले यसो नगर्न सम्झाउँदा उल्टै दोषी बनाइएको छ ।’
घटना क्रम….
असोज ३१ गते दिउँसो प्रहरी जवान विष्ट सहितको टोली कुण्डा पुग्यो । ज्यान मार्ने प्रयासमा फरार दुई जनालाई नियन्त्रणमा लिन पुगेको प्रहरीको उक्त टोली घरमा आइ निहुँ खोजेको पीडितको गुनासो छ । जवान विष्टले घरमा राखिएको मोटरसाइकलको विषयलाई लिएर विवाद सुरु गरे । मोटरसाइकलको ब्लु बुक, प्रयोग गर्ने लाइसेन्स बरामद गरे ।
मोटरसाइकलका कागजात बाट सुरु भएको उक्त विवाद चर्किँदै गयो । सोही विवादका क्रममा युवकले जवान बिस्टलाई बर्दी लाएकै भरमा दम्भ नदेखाउन सम्झाउन खोजे । विवादले चर्काेरुप लिन नपाउँदै स्थानीयको जमघट भयो । सोही समय आपसी समझदारी गरेर विवादको निवारण खोजियो । स्थानीय चन्द्र महरा भन्छन्–‘ गाउँकै मामला भएकाले पूर्व रिसीभी साध्न निहुँ खोज्नु कुनै जायज नभएको सबैले सम्झाएपछि जवान विष्टले भाइ भन्दै भइगो अब लागौँ, यो कुरा यही टुङ्ग्याऊ भन्दै फर्किएका थिए।’
कुनै करतुत नभेट्टाएपछि कार्यालय फर्किएको प्रहरी १९ दिनपछि घरमै पुगेर युवकलाई नियन्त्रणमा लिएर लगेपछि महरा परिवारमा तनावको स्थिति सृजना भएको छ । पीडितकी आमा भन्छिन्–्‘सहारा विहीनका साथ दिने कोही पनि नहुँदो रहेछ’। ‘कुनै कसुर बिनै दीपावलीमा छोरालाई नियन्त्रणमा लिएपछि अन्यायको सिकार आफूहरू कहिले सम्म भइरहने ।’
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खड्काले सिडिओको आदेश भन्दै युवक प्रवेश महरालाई नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।  प्रहरी निरीक्षक खड्काले प्रहरी जवानमाथि केही गालीगलौज गरेको देखिएकाले एक्सन लिनुपरेको जनाए ।
हाम्रो कालापानी खबर सँगको कुराकानीमा प्रहरी निरीक्षक खड्काले भने,–‘प्रहरी जवानमाथि भएको कु–व्यवहारको निवारण खोजिरहेका छौँ।’ तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने यस घटनाको कुनै जानकारी नआएको जनाएको छ । सिडिओ रामप्रसाद पाण्डेले प्रहरीमाथि गालीगलौज भएको भन्ने सुन्नमा नआएको जनाए । उनले यस विषयमा थप बुझिने जनाए ।
प्रतिक्रिया दिनुस