दार्चुला । कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो ।
जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए । सडक सञ्जाल अप्ठ्यारो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई हिजो हेलिकप्टरमार्फत त्यहाँबाट फर्काएको रेग्मीले जानकारी दिनुभयो ।
कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना गर्न भने बाँकी छ । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो । तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागको तयारी छ ।