बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परि गम्भीर घाइते भएकी पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसंगै मृतकको संख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारको लागि डडेल्धुरा रेफर गर्ने तयारी हुदैं गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यसअघि दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

पाटन नगरपालिका १ सकारकै १३ वर्षीय विनोद भट्टराई,७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो । यसैबीच दुर्घटना परि अन्य पाँच जना घाइते रहेका छन् । घाइतेमध्ये पाटन नगरपालिका १ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ ।

यी दुबै जनालाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ । अन्य घाइते पाटन नगरपालिका १ सकारकै दिपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा सोमबार साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन ५ बशन्तरपुरका खेमराज पाण्डेय फरार रहेका छन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट एक सय मिटर तल खसेको छ । कच्ची चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस