कञ्चनपुर । शान्ति पुनस्र्थापन गृह (पिआरसी) सम्पर्क कार्यालय बेलौरीले लैङ्गीक हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । वडा नं.३ स्थित श्री सरस्वती मा.बि.मा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगतको १२ औँ दिनमा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय मुल नाराका साथ १ दिने जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

पिआरसी सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता मनिषा न्यौपानेले गाउँ समाजमा हुने लैङ्गीक हिंसा न्यूनिकरण गर्ने उदेश्यले सोमबार कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् । वडा अध्यक्ष नेत्रराज गिरिले पिआरसी नेपालले गर्ने क्रियाकलाप प्रभावकारी भएकाले आगामी दिनहरुमा पनि आफुले सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गरे । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खड्काले आगामी दिनहरुमा पनि पिआरसीसँग सहकार्य गरी यस क्षेत्रमा हुने सम्पुर्ण जनचेतनामुलक कार्यक्रममा सहभागी भई हरेक गतिविधिहरुमा साथ र सहयोग गर्ने बताए ।

कार्यक्रममा महिला प्रतिनिधि, उक्त विद्यालयका सहायक प्रधानाध्यापक हेमराज जोशी, तथा शिक्षक प्रतिनीधिहरु, प्रहरी, सशस्त्र प्रहरी बल (बि.ओ.पी.) बैलौरीका स.प्र.ना.नि. तथा प्रतिनिधिहरु, पत्रकारहरु, विद्यालयका विद्यार्थीहरु तथा पिआरसी नेपालका सुपरभाइजर सम्झना पाठक तथा परामर्शदाताहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको आत्मबल बढाउने उदेश्यले लैङ्गिक हिंसामा आधारित तिनओटा प्रश्नहरु सोधेर विद्यार्थीहरुलाई बोल्न लगाइ उत्कृष्ट हुनेहरुलाई पुरष्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुस