गोकुल जोशी
महेन्द्रनगर , साउन १०, कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको एक वर्ष पुरा भएको छ । २०७४ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएकी थिइन्।
बलात्कार पछि हत्या गरिएकी बालिकाको घटना घटेको एक वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन।
घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्। एक वर्षको अवधीमा प्रहरीले डीएनए परीक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथी सूक्ष्म अनुसन्धान ग¥यो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन।
प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ। सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको अनुसन्धान टोलीको निष्कर्ष छ।
निर्मला हत्याकाण्डमा प्रहरी प्रशासन निकै आलोचित भयो। अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा फस्यो। प्रहरी इतिहास मै पहिलो पटक सिआइबी पनि अनुसन्धानमा चुकेको छ। यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ।
प्रहरीले नै प्रमाण नष्ट गरेकोे भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असर्ई निलम्बनमा परे। निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भयो, उनको परिवारले छोरीको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दियो। हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको थियो।
मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो। स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउनका लागि लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन गोलीसमेत चलायो। प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु प(यो।
स्थानीयको दबाव पछि एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र मेयरका भनिज आयुश विष्ट तथा दिलिप सिंह विष्ट, प्रदिप रावल र विशाल चौधरी लगायत झण्डै ७३ जनाको डीएनए परिक्षण गरियो।
तर उनीहरुको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मेल खाएन। घटनाको प्रमाण नष्ट गरेको तथा अनुसन्धानका क्रममा यातना दिएको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्टसँगै आठ प्रहरी विरुद्ध अदालतमा मुद्धा दर्ता समेत भयो र धरौटीमा उनीहरु रिहा भए।

न्याय खोजीको एक वर्ष
जिल्ला प्रशासन कार्यालय अगाडिको धर्ना छोडेपछि ‘निर्मलाको न्यायको आन्दोलन’ सेलाउँदै गयो। धर्नापछि कुनै पनि दबावमूलक कार्यक्रम समेत आयोजन गरिएन। घटनाको घटेको एक बर्ष भैसक्दा समेत दोषि पहिचान हुन नसकेपछि न्याय पाउने आशा मरेको निर्मलाकी आमा दुर्गादेवीले बताइन्।
यत्रो लामो समय भैसक्दा समेत अपराधीको पहिचान हुन नसक्दा न्याय पाउँने कुरा अब दिवास्वप्न जस्तै भएको उनले बताइन्। ‘एक वर्ष भैसक्दा पनि हत्यारा पत्ता लागेन, अब कहिले पत्ता लाग्छ?’ उनले भनिन्, ‘सबै ठाउँबाट पीडा छ, अब त न्याय पाउने आशा नै छैन। कसरी आशा गर्ने।’ विभिन्न टोलीहरुले अनुसन्धान तथा डीएनए परीक्षण गर्दा समेत अपराधी पत्ता नलाग्दा न्याय पाउने आशा टुटेको उनले गुनासो गरिन्।
अहिलेसम्म अपराधी कानूनी कठघरा नआउनु दुःखद भएको बताउँदै निर्मलाका बुवा यज्ञराजले सरकार नै अपराधीको संरक्षणमा लागेको आरोप लगाए। निर्मलाकी आमाले स्थानीय, प्रदेश र संघीय सरकारबाट घोषित २० लाख राहत रकम बुझेकी छिन्। उनलाई दैनिक ज्यालादारीमा भीमदत्त नगरपालिकाले जागिर दिएका छन्। उनी भीमदत्त नगरपालिकाको महिला तथा बालबालिका शाखामा काम गर्ने गर्छिन।
प्रदिप र विशाल पछि अनुसन्धान कता?
केही समय अगाडिसम्म शंकास्पद भनेर धेरैलाई समातेको सूचना चुहाइरहेको नेपाल प्रहरी हाल भने चुप छ। उसो त, प्रदिप रावल र विशाल चौधरी पछि कसैलाई पनि समातेर अनुसन्धान गरिरहेको सुन्नमा आएको छैन ।
प्रहरी महानिरीक्षकले समेत बयान लिएका यी दुई जनाको निर्मलाको ‘भजाइनल स्वाब’ सँग डीएनए रिपोर्ट नमिलेर छुटेपछि नेपाल प्रहरीले कसैलाई पनि पक्राउ गरेको आधिकारिक अभिव्यक्ति दिएको छैन।
ती दुई जना तथा यस अगाडि पक्राउ परेका अभियुक्तमाथी अनुसन्धान हुँदाका बखत सरकारका उच्चपदस्थ नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिइरहेको थिए। प्रदिप र विशालमाथीको अनुसन्धानमा पनि प्रहरीले सफतला हात पार्न नसकेपछि त्यसपछिको ‘अनुसन्धान सुइ’ बारे ६ महिनासम्म पनि गुपचुप अवस्थामा छ। कुनै सूचना सार्वजनिक नगरी गुपचुप तरिकाबाट नेपाल प्रहरी अनुसन्धानमा रहेको जनाइएको छ।
एक वर्षको अवधिमा निर्मला प्रकरणमा झण्डै ५ सय २९ जना शंकास्पद मानिएकाहरुसँग बयान लिइएको छ भने ७३ जनाको डीएनए परीक्षण गरिएको छ। तर एक वर्षको अवधिसम्म पनि अपराधीसम्म पुग्ने दरिलो आधार भेटाउन सकेको छैन, प्रहरीले। यसले गर्दा यो प्रकरण नेपाल प्रहरी सरकारका लागि नै पेचिलो बनेको छ।
यसबिचमा निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान ‘न्यारो डाउन प्रविधि’बाट जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। बिगतमा अनुसन्धानको दायरामा नआएका तथा छुटेका बाहिर रहेकाहरुमाथी निरन्तर अनुसन्धान जारी रहेको उनले बताए।
अनुसन्धान प्रगति जहाँको तहीँ
निर्मला बलात्कार तथा हत्या प्रकरणकोे अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ। घटना घटेको एक वर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन सकेको छैन। नेपाल प्रहरीको अनुसन्धान ‘कु्हिरोको काग’ जस्तै भएको छ। निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने ‘दरिलो कडी’ डिएनए परीक्षण मात्र नै हो। एक बर्षको अवधिमा सोही ‘रुट’ पछ्याएको प्रहरीले झण्डै ७३ जनामाथी सो सूत्र प्रयोग गर्दा समेत अपराधी भेटिएन । अनुसन्धान प्रगति जहाँको तहीँ छ।
निर्मला प्रकरणको अनुसन्धान जारी रहेको बाहेक कञ्चनपुर प्रहरीसंग अरु कुनै जवाफ छैन। निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान ‘न्यारो डाउन प्रविधि’बाट जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। बिगतमा अनुसन्धानको दायरामा नआएका तथा छुटेका बाहिर रहेकाहरुमाथी निरन्तर अनुसन्धान जारी रहेको उनले बताए।
‘हाम्रो अनुसन्धान निरन्तर जारी छ, यसअघि अनुसन्धानको दायरामा नआएकामाथी निरन्तर अनुसन्धान हुदैछ।’ उनले भने, ‘शंकास्पद व्यक्तिहरुलाई समात्ने, ल्याने बयान लिने काम भइरहेको छ।’
अनुसन्धान टोली माथि टोली
नेपाल प्रहरी र सरकारका लागि नै निकै पेचिलो रुपमा खडा भएको निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलिसंगै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र अपराध अनुसन्धान ब्यूरोका विभिन्न टोलीहरु खटिएका छन्।
आवश्यकता अनुसार संघीय प्रहरी इकाई धनगढीबाट समेत विभिन्न टोलीहरु आएका छन्। उसो त, हाल मात्रै एसपी गणेश चन्द नेतृत्वको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलि समेत यहाँ आएर घटनाको अनुसन्धानमा जुटेको छ। यसका अतिरिक्त दर्जन अनुसन्धान टोलीले घटनाको अनुसन्धानका लागि खटिएका छन्। तर प्रगति भने ‘हात लाग्यो शून्य’ जस्तै भएको छ। शंकास्पद मानिएका बिषयको निरन्तर अनुसन्धान गर्ने काममा टोलिहरु सक्रिय रहेका छन्।
४ सीडीओ, ३ एसपी फेरिए
निर्मला बलात्कार तथा हत्या प्रकरण पश्चात् मात्रै जिल्लाका प्रशासनिक क्षेत्रका प्रमुखहरु ४ सीडीओ र ३ एसपी फेरिए। निर्मला प्रकरण चलेका बेला कुमार बहादुर खड्का यहाँ सीडीओ थिए। २०७५ भदौमा उनि निलम्वनमा परेर कञ्चनपुरबाट बिदा भए।
त्यसपछि २०७५ भदौ ५ मा तारानाथ अधिकारी सिडिओका रुपमा आए । उनि पनि चार महिनामै फर्किए। अधिकारी पछि सहायक सिडिओ रहेका शंकरबहादुर विष्टले दुई महिना जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाले। पछि सीडीओका रुपमा सुशील वैद्य आए। उनी हाल पनि यतै छन्।
प्रहरी प्रमुख एसपी फेरिने क्रम पनि यहाँ उतिकै मात्रामा छ। निर्मला प्रकरणका बखत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट यहाँ रहेका थिए । उनी निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै सेवाबाट बर्खास्तीमा परे। उनी पछि निर्मला प्रकरणमा आन्दोलन चर्केका बेला एसपी कुवेर कडायतलाई जिम्मेवारी दिइयो। उनी पाँच महिना मात्रै यहाँ बसे। त्यसपछि जिल्ला प्रहरी प्रमुखको रुपमा दिनेश आचार्य आए।

प्रतिक्रिया दिनुस