पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीतन्त्र दक्षिणपन्थी अवसरवादमा उभिएको, दक्षिणपन्थी भासमा भासिएको र विदेशी दलालको चाकरी गरेर बसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचना गरेका छन् । अध्यक्ष नेपालले ओलीले राष्ट्रिय आत्मसमर्पणवाद नीति अवलम्बन गरेको, व्यक्तिवादमा रमाएको र गुटवादमा आफ्नो अस्तित्व देख्ने गरेको आरोप लगाए । पोखरामा आयोजित नेकपा ९एकीकृत समाजवादी० पार्टीको गण्डकी प्रदेशस्तरीय वृहत् प्रशिक्षण कार्यक्रमलाई संम्बोधन गर्दै अध्यक्ष नेपालले निरंकुश प्रवृत्तिलाई बढवा दिएको, सामूहिकता, संस्थागत परिपाटी र छलफल र बहससँग मतलब नगरेको, अरूको राय विचार नसुन्ने, कसैको आलोचना सुन्ने धैर्यता नगर्ने ओलीतन्त्रलाई आफूहरूले सधैँका लागि परास्त गरेको बताए ।

ओलीतन्त्रका विरुद्धमा आफूहरू सङ्घर्षको मैदानमा उत्रिएर सबैलाई चुनौती दिने ओलीतन्त्रलाई आफूहरूले सत्ताबाट तल झारिदिएको र बादशाहलाई घोडाबाट झारे जसरी नै उन्मत्त रहेको ओलीतन्त्रलाई सत्ताबाट सडकमा झारिदिएको स्पष्ट पारे । उनले ओलीतन्त्रबाट मुलुक र जनताले मुक्ति पाएको भन्दै पाँच दलको गठवन्धन एक ठाउँमा उभिइरहने बताएका छन् । ओलीतन्त्रविरुद्ध वामपन्थी र लोकतान्त्रिक मूल्य र मान्यता आत्मसाथ गरेका पार्टीहरू एक ठाउँमा उभिएको भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धन टुटाउन, फुटाउन विभिन्न जाल रचे पनि उनको त्यो सपना मात्र हुने स्पष्ट पारे ।

आफूहरूको अनुहार पनि नहेर्ने भन्ने एमाले अध्यक्ष ओलीले काँग्रेसको कार्यक्रममा आफूहरूको अनुहार हेर्दे हिँडेको भन्दै अध्यक्ष नेपालले व्यङ्ग्य गरे । ओली नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने तर अन्य ठाउँमा आफूहरूलाई छुवाछुतको व्यवहार गरेको भन्दै अध्यक्ष नेपालले दुखेसो पोखे । कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, केन्द्रीय कमिटीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुषालले प्रदेशका विभिन्न तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा गण्डकीका करिब एक पाँच सय बढी नेता, कार्यकर्ता सहभागी भएको र एमाले परित्याग गरि १५० भन्दा बढी समाजवादी पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुस