महेन्द्रनगर । तलब पाएको खुसीमा बालविकास शिक्षकले वेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दलाई सम्मान गरेका छन् । सरकारले तोके अनुसारको तलब नगरपालिकाले उपलब्ध गराएको भन्दै बुधबार नगर प्रमुख चन्दलाई सम्मानित गरिएको हो ।

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले एक कार्यक्रमका बिच मेयर चन्दका साथै उप–प्रमुख सुशीला सिँह, प्रमुख प्रशासकीय अधिकृतलाई मायाको चिनो समेत प्रदान गरेका छन् ।

नगरपालिकाले सरकारले तोके अनुरुपकै कार्तिक महिनासम्मको १५ हजारका दरले तलब निकासा गरेको र शिक्षकहरुले तलब बुझिसकेका मेयर चन्दले बताए । नगरपालिकाभित्र २४ वटा सामुदायिक विद्यालय रहेका छन् । विभिन्न स्थानीय तहले सरकारले वृद्धि गरेको तलबसहितको सुविधा कार्यान्वयन नगरेको भन्दै विवाद तथा आन्दोलन समेत गरेकामा वेदकोट नगरपालिकाले भने सहजै तलब निकासा गरेको बताइएको छ ।

विगतमा बालविकास शिक्षकलाई मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराइँदै आइएकामा आर्थिक वर्ष २०७८र०७९ को बजेटमा संघीय सरकारले उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो । जसमा संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार व्यहोर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुस