बैतडी । पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताइन् ।

विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन भइरहेको हो । बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्य समेत प्रभावित हुने गरेको छ ।

पहिराले विद्यालयको सात कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाइएको भए पनि तीन महिनासम्म पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ । गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष वीना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताइन् । गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र सङ्घ सरकारसँग माग गरेका उनले जनाइन् । यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराइसकेको जनाए ।

प्रतिक्रिया दिनुस