काठमाडौं, नेकपा (क्रान्तिकारी माओवादी) संघर्षको तयारीमा अहेको छ ।छरिएर रहेका क्रान्तिकारीहरुले एकताबद्ध गरी क्रान्तिको प्रक्रियालाई घनिभूत रुपमा अगाडि बढाउने अभियानमा पनि क्रान्तिकारी माओवादीको नेतृत्व जुटिरहेको बुझिएको छ । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले संगठन र संघर्ष सम्बन्धी गरेका महत्वपूर्ण निर्णयहरुको कार्यान्वयनका क्रममा नेकपा( क्रान्तिकारी माओवादी)का अहिले प्रदेश र जिल्लाका बैठकहरु धमाधम बसिरहेका छन् र बैठकमार्फत् संगठन र संघर्षका मूर्त खाकाहरु तयार भइरहेको क्रान्तिकारी माओवादीका नेताहरुले जनाएका छन् ।नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिमा अगाडि बढ्ने लक्ष्यका साथ त्यसको तयारीमा जुटिरहेको क्रान्तिकारी माओवादी अहिले आशा र उत्साहको केन्द्र बनिरहेको छ

पार्टी श्रोतका अनुसार क्रान्तिकारी माओवादीका चारवटै ब्यूरोको बैठक सम्पन्न भइसकेको छ भने प्रायः प्रदेशका बैठकहरु पनि सम्पन्न भएका छन् । कतिपय जिल्लाहरुका पनि बैठकहरु सम्पन्न हुने क्रममा रहेका छन् ।
जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षलाई नयाँ ढंगले संगठित गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीले आत्मगत अवस्था र वस्तुगत स्थितिको ठोस विश्लेषण गरी विकेन्द्रित रुपमा संगठन र संघर्षका योजना निर्माणमा जुटेको छ । क्रान्तिकारी माओवादीले क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, जनवर्गीय संगठन र मोर्चामार्फत् संगठन तथा संघर्षका कार्यक्रमहरुलाई व्यापक बनाउने तयारी गरिहेको छ । त्यसका लागि देशभक्त जनगाणतान्त्रिक मोर्चा, नेपाल, अखिल नेपाल जनजाति महासंघ, क्रान्तिकारी युवा लिग, नेपाल, क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेका छन् भने अखिल क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेमसंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल दलित मुक्ति मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, मुस्लिम मुक्ति मोर्चा, जनणतान्त्रिक सम्पर्क मञ्चलगायतका जबस मोर्चाका राष्ट्रिय भेलाहरु सम्पन्न भइसकेका छन् । यसरी संयुक्त मोर्चा र जबस–मोर्चाको संगठनलाई सुदृढ बनाई यी संगठनहरुलाई व्यापक जनसञ्जालको रुपमा विकास गरी क्रान्तिकारी माओवादीले संघर्ष उठानको तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुस