कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ। नगरपालिकाले मौसमी कृषि श्रमिकहरुलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो।
कार्यपालिकाबाट अनुमोदन गरि सम्झौतापत्र मंगलबार इन्टरनेशनल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाएइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए। उनका अनुसार आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली विकासमा फड्को मारेको दक्षिण कोरियाको सिप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवाहरुलाई त्यहाँ पठाउन लागिएको हो। ‘कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनिकरण गर्न सकिन्छ। त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणाली भित्र्याउन चाहन्छ’ नगर प्रमुख विष्टले भने, ‘केही समयका लागि युवाहरु विदेश जानुहुन्छ। त्यहाँको सिप र प्रविधि सिक्नुहुन्छ र फर्केर स्वदेशमै त्यसकोे उपयोग गर्नुहुन्छ।’ त्यसले समग्र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने नगरप्रमुख विष्टले बताए। कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताको गरेको नगर प्रमुख विष्टको भनाई छ।
भीमदत्त नगरपालिकामा कम्तिमा ३ वर्ष भन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका र अंग्रेजी वा कोरियन भाषाको ज्ञान भएका युवाहरुलाई नगरपालिकाले छनोट गरि कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ। उक्त सम्झौता अनुसार करार अवधि ३ देखि ५ महिना हुने ९रोजगारदाताको इच्छा अनुसार बढी पनि हुनसक्ने० र न्यूनतम् मासिक तलब १ लाख ८० हजार रहेको बताइएको छ। मौसमी कामदार कार्यक्रम इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिमपत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ।
भीमदत्त नगरपालिकाले अर्वन ट्रेनिङ्ग सेन्टरले माग गरे अनुसार सिमित संख्यामा युवाहरु छनौट गरि सिफारिस गर्नेछ। श्रम मन्त्रालयको अनुमतिका लागि नगरपालिकाले तयारी गरिरहेको जनाएको छ।