आज पुस १५, सुदूरपश्चिममा आज ‘ठुलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, “रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना, बातै )सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।”
‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ ।यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।
पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झन्डै २० फिट लामो) दाउराको मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।
गुरुङ समुदायमा ‘तमु ल्होसार’
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज (पुस १५ गते) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।