महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयास्थित श्री निङ्गलाशैनी माध्यमिक विद्यालय स्थापना गरिएको झण्डै चार दशक पुग्न लागेको छ । बालबालिकालाई घर नजिक शिक्षा आर्जनका लागि स्थानीयले छाप्रोबाट विद्यालय सञ्चालन गरेका हुन् ।

विद्यालयका संस्थापकमा टिकाराम भट्ट, नर बहादुर बोहरा, गंगादत्त भट्ट, हरिदत्त भट्ट लगायतका स्थानीय छन् । सुरुमा कक्षा १ देखि ३ सम्म सञ्चालन गरिएको विद्यालयमा हाल कक्षा १२ सम्म पढाई हुने गरेको छ । पाँच वर्षसम्म छाप्रोमा सञ्चालन गरिएको थियो ।

विद्यालयका संस्थापक स्थानीय टिकाराम भट्टका छोरा निरञ्जन प्रसाद भट्ट २०७३ देखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । २०७३ मा पहिलो पटक अध्यक्ष भएका उनी त्यसपछि दोस्रो कार्यकालमा पनि उनले जिम्मेवारी पाएका थिए । अध्यक्ष भट्टले पनि यस विद्यालयबाट शिक्षा लिएका छन् ।

उनी भन्छन्, ‘यो विद्यालयको स्थापनाबाट मेरो घर परिवारका नाता जोडिएको छ, मैले यस विद्यालयमा पढे, यहाँसम्म आए, दुई कार्यकाल व्यवस्थापन समितिको जिम्मेवारी पाए, यसमा सबैको साथ र सहयोग पाए, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार निर्माण, सूचना प्रविधिमैत्री शिक्षा, विद्यार्थी अनुशासन अध्यक्ष भट्टका प्राथमिकतामा छन् । उनी शिक्षामा अहिले सूचना प्रविधिमैत्री शिक्षा अपरिहार्य भएको बताउँछन् ।

अध्यक्ष भट्टले सूचना प्रविधिमैत्री शिक्षा बनाउन अमेरिकन एसोसिएसन अफ इन्जिनियरको सहयोगमा अमेरिकाबाट १५ कम्प्युटर ल्याए । विद्यालयको कम्प्युटर प्रयोगशालामा ती कम्प्यृुटर राखिएका छन् । कक्षा ६ देखि माथि कम्प्युटर विषयको पढाई हुन्छ । कक्षा ६ देखि ६ देखि माथि प्रोजेक्टरबाट पढाउने गरिएको छ ।

अध्यक्ष भट्टले पहिलो कार्यकालमा दुई कोठे भवन र त्यसपछि चार कोठे भवन बनाए । विद्यालयको भौतिक पूर्वाधारका लागि उनी स्थानीय, संघ र प्रदेश सरकारसित पहल गर्दै आएका छन् ।

अध्यक्ष भट्टले विद्यालय स्थापनासंगै जोडिएको जग्गा विवाद पनि हल गरिएको छ । विद्यालयले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले दाबी गर्दा विवाद देखिएको थियो । अहिले ती स्थानीयलाई जग्गामा बाटो दिएर विवाद हल गरिएको छ । विद्यालयसित १६ कट्टा जग्गा छ ।

विद्यालयमा विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ । अहिले कक्षा १, ६ र ९ मा अंग्रेजी माध्यममा पठनपाठन थालिएको छ । आगामी शैक्षिक सत्रदेखि अन्य कक्षामा अंग्रेजी माध्यममा पठनपाठन गर्ने लक्ष्य राखिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ४, १५ र १८ का विद्यार्थी अध्ययनरत यस विद्यालयमा २०५० सम्म कक्षा ९ सम्म पढाई गरिएको थियो । अहिले कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा सात सय विद्यार्थी अध्ययनरत छन् ।

यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सूचना प्रविधि विस्तारका लागि १० लाख आएको छ । यसबाट सबै कक्षा कोठामा प्रोजेक्टर जडान गरी पठनपाठन गरिने भएको छ । ‘अहिले कक्षा ७ देखि माथि प्रोेजेक्टरबाट पठनपाठन हुन्छ, अब सबै कक्षा कोठामा प्रोजेक्टरबाट पढाई गर्छौ’ अध्यक्ष भट्ट भन्छन् ।

विद्यालयले नियमित पठनपाठन बाहेक अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको छ । विद्यालयका कमजोर अवस्थाका जेहेन्दार विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

निङ्गलाशैनीमा पढेका विद्यार्थी विभिन्न क्षेत्रमा कार्यरत छन् । जगदीश प्रसाद भट्ट भलिबलको राष्ट्रिय प्रशिक्षक छन् । दोधारा चाँदनी नगरपालिकाका प्रशासकीय अधिकृत भानदेव भट्ट, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, इन्जिनियर अमर भट्ट, तथ्याङ्क कार्यालयका प्रमुख गोविन्द न्यौपाने निङ्गलाशैनीमा पढेका हुन् । निङ्गलाशैनी पढेका विद्यार्थी राजनीति, चिकित्सा, कानुन, शैक्षिक क्षेत्रमा पनि छन् ।

विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त समय परिवर्तनसंगै शिक्षामा पनि परिवर्तन हुने भएकाले त्यसै अनुसार विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गरिएको बताउँछन् ।

‘समय परिवर्तन हुँदै जान्छ, त्यस अनुसार शिक्षा पनि बदलिदै जान्छ’ उनी भन्छन्, ‘ विदेश जाने, विदेशी ज्ञान सीप सिक्न, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न अंग्रेजी भाषा आवश्यक छ, त्यसैले अंग्रेजी माध्यममा पढाई गरिएको छ ।’

अंग्रेजी माध्यममा पढाई भएपछि विद्यार्थी बढेको प्रधानाध्यापक पन्तले बताए । उनका अनुसार गत वर्ष कक्षा १ मात्रै २५ जना बढी विद्यार्थी भएका हुन् ।

अध्यक्ष भट्ट विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक, कर्मचारी,बुद्धिजीवि, नागरिक समाज सबैको सकारात्मक सहयोग चाहिने बताउँछन् ।

‘यो विद्यालयको शैक्षिक उत्थानका लागि निरन्तर रुपमा लागि रहने छौ’ अध्यक्ष भट्ट भन्छन् ।

समाजसेवि सेवा काम गरे बाफत यसै बर्ष भट्टले जनसेवा श्री पदक समेत पाएका थिए ।

प्रतिक्रिया दिनुस